काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामलाई नजिकबाट नियालिरहेको बताएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेसले सरकारको प्रभावमा परेर अख्तियारले राजनीतिक प्रतिशोधका साँधेर उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा लगाएकाले सदन अवरोध गरेर विरोध गर्नुपरेको स्पष्ट पारेको छ ।
बैठकमा बोल्दै कांग्रेस सांसद् पुष्पा भुसालले भनिन्– ‘संवैधानिक अंगले संविधानको मूल्य मान्यता विपरित सरकारको पूर्वाग्रह र प्रभावमा परेर काम गर्छ भने त्यसलाई सदनमा ननियालेर कहाँबाट नियाल्ने ? उनले भनिन्- 'कांग्रेसले नजिकबाट नियाल्ने छ ।'
गच्छदारविरुद्ध मुद्दा दायर गरिएको विषयमा सरकारको धारणा माग्दै उनले भनिन्– ‘अख्तियारले राजनीतिक पूवाग्रह साँधेर मुद्दा दायर गरेको पुष्टी स्वयम् सरकारले नै गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले त्यसको पुष्टी गरेको भन्दै उनले भनिन्– ‘उहाँले भन्नुभयो यो सरकाको ठूलो उपलब्धी हो, अख्तियारको काममा धावा बोल्नुभयो, यसो भने संवैधानिक अंग किन बनाउनुपर्याे ? यदि सरकारको छायाँ वनेर बस्ने भए अख्तियार जस्ता संवैधानिक अंग किन परिकल्पना गरियो ? सरकारले जवाफ दिन पर्याे ।’
लोकतान्त्रिक पद्धतिलाई कसैले कमजोर पार्छ भने कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिइन् । गच्छदारविरुद्ध मुद्धा अदालतमा प्रवेश गरिसकेकाले सदन अवरुद्ध नगरिएकाे भन्दै उनले यसलाई राजनीतिक रुपमा अघि बढाइने बताइन् । 'संवैधानिक अङ्गहरु सरकारको प्रभावमा परेर निर्णय गर्ने र छायाँ बन्ने प्रयास गरे हामी चुप बस्दैनाैं, अवरोध गर्छाैं ।' उनले भनिन् ।
मंगलबार बिहान बसेकाे कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सदन चल्न दिने निर्णय गरेकाे थियाे ।
