काठमाडौं । संघीय समाजवादी पार्टीकी सांसद् सरिता गिरिले सदन जनताका विषय उठाउने थलो भएको भन्दै प्रमुख प्रतिपक्षीलाई सुझाव दिएकी छिन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै समाजवादीकी सांसद् सरिता गिरिले भनिन्– ‘राजनीतिक प्रतिशोधका आधारमा विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरिएको लाग्छ भने विकल्पको प्रयोग गर्नुस्, अख्तियारका पदाधिकारीलाई महाअभियोग लगाउनुस्, तर, सदन अवरोध नगर्नुस् ।’
उनले अगाडि थपिन्– ‘लोकमानसिंह कार्की र सुशीला कार्कीलाई पनि महाअभियोग लगाइएको थियो, तपाईंहरुले नि लगाउन सक्नुहुन्छ ।’
कांग्रेसको अवरोधका कारण कोरोना भाइरस प्रभावित चीनमा रहेका नेपालीको बारेमा बोल्न नपाएको भन्दै उनले यस्तो सुझाव दिएकी हुन् । लेनदेन मिलाउन नाटक रचिएको आशंका प्रकट गर्दै उनले भनिन्– ‘सदन अवरोध गर्नुको कारण के हो ? कतै लेनदेन मिलाउनका लागि यो नाटक गरिएको त होइन ?'
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकाे भन्दै उनले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताइन् ।
