काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले घनावस्तीमा क्वारेन्टाइनस्थल राख्न नहुने बताएका छन् ।
कोरोना भाइरस प्रभावित चीनमा रहेका नेपालीलाई स्वदेश ल्याएर भक्तपुरको खरिपाटीमा राख्न खोजिएको भन्दै उनले यो राम्रो नभएको बताए । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने– ‘आज मात्रै प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयले गरेको निरीक्षणको जनताले विरोध गरेका छन्, त्यस्तो क्वारेन्टाइनस्थल घनावस्तीमा राख्न हुँदैन, डब्लूएचओले सिफारिस गरेको ठाउँमा राख्न म सरकारको ध्यानाकार्षण गराउँछु ।’
सरकारले चीनबाट फर्काइने नेपालीलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा राख्ने निर्णय गरेको छ । भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । भक्तपुरवासीले यसको विरोध गरेका छन् ।
उनले सरकारी जग्गा हिनामिना काण्डमा झुक्याइएछ भन्दै मन्त्रीहरुले संरक्षणको भाषा बोलेको बताए । बालुवाटार जग्गा प्रकरणलाई लक्षित गर्दै उनले भने–‘झुक्किएको भन्दै नीतिगत निर्णय गर्ने होइन, यसबाट सुनियोजित हो भन्ने प्रष्ट हुन्छ ।’ कानुनको मुख थुन्न नमिल्ने उनकाे भनाइ छ ।
नेपालमा गैरकानूनी लगानी भित्रिएकाे भन्दै उनले सरकारकाे ध्यानाकार्षण गराए ।
