काठमाडौं । सांसद्हरुले कोरोना भाइरसदेखि शिक्षक, सुरुङमार्ग, राजमार्ग र छाउपडी लगायत विषयमा सरकारको ध्यानाकार्षण गराएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भवानीप्रसाद खापुङले चालु आर्थिक वर्षबाट बालशिक्षामा कार्यरत शिक्षकलाई न्यूनतम पारिश्रामिक दिन माग गरे । देशभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको उनले बताए ।
आगामी दिनमा न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
सांसद् मीनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहेका बेला सदनमा बारम्बार कुरा उठाउँदा पनि सुनुवाई नभएको बताए । उनले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले चीनबाट विद्यार्थी ल्याउनका लागि सरकारले प्लेन ग्राउण्डेड छ भनेको हो कि उड्नका लागि स्ट्यानवाई छ भनेको हो भनी प्रश्न गरे ।
सासंद् बिमला विकले तात्कालिक सरकारले ०७१ सालको बाढी प्रभावित बर्दिया बाँके लगायत बाढी प्रभावितलाई भूकम्प प्रभावित सरह राहत उपलब्ध गराउने भनेपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सासंद् भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माणकाे कामले सुरुअातमै अवरोध सामना गर्नुपरेको बताउँदै धादिङतर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जाको समस्या तत्काल सम्बोधन गर्न माग गरे ।
सासंद् भैरवबहादुर सिंहले बझाङको खोड्पे बजार र जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीयले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । सो राजमार्गको स्तरोन्नती गर्न उनले सकारसँग माग गरे ।
सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी गोठ भत्काएर मात्र यसको समाधान नहुने भन्दै मनमस्तिष्कबाट छाउपडी प्रथा हटाउन सबै लाग्नुपर्ने बताइन् । गृह मन्त्रालयले छाउगोठ भत्काइरहेकोमा स्वागत गर्दे मानिसकाे दिमागबाट पनि यो कुप्रथा हटाउनुपर्ने भन्दै उनले भनिन्- 'मानिसका मनमा रहेको छाउगोठ प्रथा पनि हटाउनुपर्छ ।'
उनले महिलाले ब्रत बस्दै आएको ऋषि पञ्चमी र स्वास्थानी ब्रतकथाको किताबका केही पाना च्यात्नुपर्ने बताइन् ।
