काठमाडौं । प्रतिनिधि सभा बैठकमा संसदीय समितिका तीन प्रतिवेदन पेस भएका छन् ।
विषयगत समितिका सभापतिहरुले प्रमाण, बीउ बिजन र लोक सेवा आयोग विधेयकसम्बन्धी समितिका प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेस गरिन् ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरे ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) २०७६’ पेस गरिन् ।
बैठकमा संसद् सचिवालका सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुुल गरे ।
त्यस्तै बैठकले संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको हो । सोमानीको माघ २५ गते शनिबार निधन भएको थियो । सोमानी ०६४ सालमा पूर्व माओवादी केन्द्रका तर्फबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक आगमी माघ २९ गते बस्नेछ ।
