काठमाडौं । चीनको कोरोना प्रभावित क्षेत्र वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री ढकालले सो जानकारी दिएका हुन् ।
‘चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन भक्तपुरको खरिपाटीमा चार वटा ब्लकमा एक सय ९९ बेड क्वारेन्टाइनको व्यवस्था गरिएको छ' –उनले भने– 'त्यहाँ महिलाका लागि एउटा छुट्टै ब्लकमा २५ बेड समेत तयार पारिएको छ ।’
त्यस्तै मन्त्री ढकालले कुनै व्यक्तिमा तत्काल भाइरसको संक्रमण देखिएमा पनि क्वारेन्टाइनमा राखेर उपचार गर्न समस्या नहुने बताए । उनले चीनमा रहेका विद्यार्थीलाई लिन जाने डाक्टर, नर्स र पाइलटलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।
उनले चीनबाट संक्रमित विद्यार्थीलाई नेपाल ल्याउन लागेको भन्ने हल्ला फैलाइएको भन्दै भ्रमहरु हटाउनु पर्नेमा जोड दिए । चीन सरकारले कुनै एक जना नेपाली विद्यार्थीमा भाइरसको संक्रमण देखिएमा नेपाल नपठाउने भन्दै नेपाल ल्याएपछि पनि १४ दिन नियमित परीक्षण गरिने बताए ।
त्यस्तै भाइरसकाे लक्षण देखिएमा तत्कालै उपचारका लागि विभिन्न अस्पतालमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको बताउँदै संक्रमितलाई अस्पताल लैजान २४ घण्टा एम्बुलेन्सकाे व्यवस्था समेत गरिएकाे उनले जानकारी दिए ।
विश्वका विभिन्न देशमा ४० हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तर, चीनमा रहेका नेपालीलाई यसको लक्षण नदेखिएको मन्त्री ढकालले बताए ।
चीनमा रहेका एक सय ८० जना विद्यार्थीले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा आवेदन दिइसकेका छन् । सरकारले ती विद्यार्थीलाई नेपाल ल्याउने मिति भने तय गर्न सकेको छैन ।
