काठमाडौं । प्रतिनिधि सभा बैठकमा बुधबार पारमाणविक विधेयक पारित हुँदै छ ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा सो विधेयकमाथि व्यापक छलफल भएको थियो । सरकारले ल्याएको विधेयकमा समितिले केही संसोधन गरेर प्रतिवेदन पेस गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो प्रतिवेदनसहितको पारमाणविक विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् । सामान्य छलफलपछि मन्त्री पोखरेलले नै विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
आजको बैठकमा कारगार विधेयक पेस हुने कार्यसूची छ । गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । सभाबाट अनुमति पाएपछि मन्त्री थापाले नै कारागार विधेयक पेस गर्ने छन् ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठक दिउँसो एक बजे बस्दैछ ।
