काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामबहादुर बिष्टले पञ्चदेवल घटनाको छानबिन गरी अपराधीलाई कारबाही नभए सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले अछाम जिल्ला पञ्चदेवल नगरपालिका–२ का वडाअध्यक्ष पदमबहादुर धामीको सुनियोजित ढंगबाट हत्या भएको १० दिनसम्म सरकारले अनुसन्धान पूरा नगरेको आरोप लगाए ।
'यस्तो गम्भीर प्रकृतिको घटनाका बारेका गृह मन्त्रीलाई थाहा छ कि छैन ? घटनाबारे सदनलाई जानकारी नगराई मन्त्री ज्यू कहाँ व्यस्त हुनुहुन्छ ?' – उनले प्रश्न गरे ।
उनले अपराधी पत्ता लगाई तत्काल कारबाहीको प्रकृया अगाडि नबढाए सदन चल्न नदिने बताए ।
जनताबाट निर्वाचित जनप्रतिनिधिको हत्या हुनु अत्यन्त दुखत घटना भएको भन्दै उनले भने– ‘सरकारले शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु र आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिन नसक्नुले सरकार कति कमजोर छ भन्ने प्रष्ट भएको छ ।’
घटना घटेको २४ घण्टा भित्रै पञ्चदेवल घटनाको अनुसन्धान गर्न सीआईबीको टाेली कुकरसहित घटनास्थलमा पुगेको तर कुकुरले काम गर्न नसकेको कुरा बाहिर आउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो ।
उनले भने– ‘तालिम नपाएका ती कुकुर जनताका आँखामा छारो हाल्न लगियो । सरकारको अनुसन्धान विश्वासिलो नभएको भन्दै पञ्चदेवल बजार बन्द छ । आम जनतामा भय र त्रासको अवस्था सिर्जना भएको छ ।’
