काठमाडौं । सरकारले राखेको लक्ष्य अनुसार जनतालाई आत्मनिर्भर बनाउन सांसद् केदार सिग्देलले माग गरेका छन् ।
आर्थिक वर्ष ०७६/७७ कोे बजेट भाषणमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित करिब एक दर्जन वस्तुहरुको आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर बन्ने प्रतिबद्धताले जनतामा उत्साह बढेको स्मरण गराउँदै उनले भने–‘लक्ष्य केवल लक्ष्यमा मात्र सीमित नहोस् ।’
लक्ष्य बमोजिम आत्मनिर्भर हुन सके समृद्धि टाढा नभएको उनले दावी गरे ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् सिग्देलले विषादी मापन गर्ने केन्द्रीय प्रयोगशालाले तरकारी तथा फलफूल बजार कालीमाटीमा आर्थिक वर्ष ०७६ /७७ काे सात महिनामा नमुना परीक्षण गरेकाे बताए । उनले भने– ‘जस अनुसार विषादी परिक्षणको अनुपात बढेको मात्र नभई एक दर्जनभन्दा बढी नमुना त खानै नहुने देखिएकाे छ ।’
राजधानी लगायत ठाउँमा खाद्यान्न, तरकारी तथा फलफुलको परिक्षण गर्ने संयन्त्रलाई प्रभावकारी बनाउँदै स्वच्छ र स्वस्थ वस्तु उपभोग गर्ने सुनिश्चितता गर्न उनले माग गरे ।
