काठमाडौं । नेकपा सांसद् गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिमका महिलाको अवस्थाबारे बुझ्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै उनले छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताए । बमले प्रश्न गरे- 'छाउगोठ भत्काएपछि ती क्षेत्रका महिलाको अवस्था कस्तो छ ? याे बिषयमा बुझ्न सरकारलाई आग्रह गर्छु ।'
छाउपडी लगायत धार्मिक प्रथा मार्फत महिला पीडित हुने गरेका भन्दै उनले वास्तविक समस्याबारे छलफल गर्न आग्रह गरेका हुन् ।
एउटा कोठामै सबै जना मिलेर बस्नुपर्ने कर्णालीबासीको वाध्यताबारे बताउँदै उनले सरकार र अभियानकर्ताले छलफल, सेमिनार गोष्ठी गरेपनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको बताए । कर्णालीका महिलाले भोगेका पीडा, छाउगोड बन्नुका बाध्यता के हुन् ? किन त्यो बाध्यताले छाउगोठ बने ? भन्ने कुराको अध्ययन गर्न पनि उनले आग्रह गरे ।
महिला र घरको समस्यालाई मध्यनजर गरेर बजेट छुट्याई अघि बढ्न सुझाव दिंदै उनले प्रश्न गरे– ‘अब भत्केका छाउगोठका मान्छेहरुको घरको अवस्था के छ ? त्यसको अवस्था बुझेर । जसको एउटै कोठा छ त्यसको घर बनाउने अभियान चलाउने कि नचलाउने सरकारले ?’
कर्णालीका महिलाहरुलाई अहिलेसम्म सेनेटरी प्याडको विषयमा समेत जानकारी नभएको पनि उनले बताए ।
