काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद् झपटबहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समुदायका लागि विशेष कार्यक्रम चलाउन सरकारसँग माग गरेका छन् । ।
प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै सांसद् रावलले अब जन्मने बालबालिकाले जातीय उत्पिडन र छुवाछुत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभाव विरुद्ध राष्ट्रिय जागरण अभियान थाल्नुपर्ने बताए ।
रावलले भने– ‘विगतको समीक्षा, वर्तमानको आवश्यकता र भविष्यको चाहाना राख्दै जातीय उत्पिडन, बहिस्करण र छुवाछुत उन्मुलनका लागि सदनले पहल गर्नुपर्छ ।’ संवैधानिक र कानुनी रुपमा छुवाछुत दण्डनीय भएपनि सिद्धान्त र व्यवहारबीचको असन्तुलनका कारण समस्या उत्पन्न भएको उनले बताए ।
दुई तिहाइको सरकार हुँदहुँदैपनि यस्ता समस्या देखिनु दुःखद भएको उनको भनाई छ । यिनकाे समाधानका लागि सबै राजनीतिक पार्टीले आफ्ना संगठनहरुलाई एक महिने जातीय छुवाछुत विरुद्धको अभियानमा सहभागी गराउनुपर्ने बताए ।
