काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न विकास गरिएको सोच अनुसार विधेयक आउन नसकेको विचार सांसद्हरुले राखेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद्हरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन्।
नेपाली कांग्रेस सांसद् गगन थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुने भएपनि याे विधेयकले अन्य विश्वविद्यालय र अब स्थापना गर्ने विश्वविद्यालयमा कुनै भिन्नता नहुने बताए । फरक सोच अनुसार यस विश्वविद्यालयको स्थापना गर्न लागिएकाले यसको विशेषता पनि फरक हुनुपर्ने भएपनि विधेयकमा त्यस्तो नसमेटिएको उनको भनाइ छ ।
त्यस्तै नेपाली कांग्रेस सांसद् मानबहादुर विश्वकर्माले यस विश्वविद्यालय भित्र मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानुन र न्यायसम्बन्धी अध्ययन गराउन नहुने धारणा राखेका छन् । अहिले स्पेसलाइजेसनको युग भएको भन्दै विज्ञान र प्रविधिको विषयमा केन्द्रीत भएर विधेयक ल्याउनुपर्नेमा उनको जोड छ ।
त्यस्तै नेकपा सांसद् खगराज अधिकारीले मानविकी, कानुन, व्यवस्थापन लगायतका विषयमा जोड दिएको भन्दै यसलाई विशेषगरी कृषि तथा प्रविधिको क्षेत्रमा विकास गर्नुपर्ने बताए । त्यसका लागि अहिले ल्याइएको विधेयकमाथि गहन छलफल गर्नुपर्नेमा उनको जोड छ ।
उनले नेपाल भित्र उत्पादन हुने वस्तुहरुको पेटेन्ट राइट अन्य देशले लिने गरेको भन्दै यस विश्व विद्यालयलाई स्थानीय उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने बताए ।
त्यस्तै सांसद् विद्या भट्टराईले नेपाली समाजलाई समृद्ध बनाउन यस विश्वविद्यालयलाई विकल्पको रुपमा भन्दापनि प्रतिस्प्रर्धी बनाउनुपर्ने बताइन् । विश्वविद्यालयलाई वस्तुको पेटेन्ट राइटको विकास गर्ने गरी मात्र नभएर देशको संस्कृति र परम्परागत विषयमा पनि अध्ययन अनुसन्धान गरी पेटेन्ट राइट सुरक्षित गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तैै नेपाली सांसद् उमाकान्त चौधरीले विज्ञान र प्रविधिमा अगाडि बढ्न नसकेसम्म देशको आर्थिक समृद्धि सम्भव नहुने बताए । त्यसैले नयाँ सोचसहित विश्वविद्यालयको परिकल्पना गरिए पनि पुरानै विषयको अध्यापन गराउने विधेयक ल्याइएकाले अन्य विश्वविद्यालयसँग तात्विक फरक नदेखिएको उनको भनाइ छ ।
समितिकाे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयले साइन्स र टेक्नोलोजीको अध्ययनमा नै मुख्य जोड दिने जानकारी दिए । तर, विश्वविद्यालयमा अन्य विषयमाथिको अनुसन्धानलाई पनि समावेस गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ ।
उनले विशिष्ट विश्वविद्यालय स्थापना गर्न खोजिएकाले विश्वका ठूला विश्वविद्यालयहरुले अपनाएका नीतिहरु अनुसरण गर्दै अगाडि बढ्ने जानकारी दिए ।
