काठमाडौं । सेनाभित्र हुने भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको भन्दै नेपाली कांग्रेस सांसद्ले छानबिन गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद् अमरेशकुमार सिंहले याे विषयमा समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
सांसद् सिंहले सेनाभित्रको भ्रष्टाचार सुशासन समितिको जिम्मेवारी भित्र नपर्ने भएपनि गम्भीर विषय भएकाले बृहत छलफल गर्नुपर्ने बताए । उनले सेना सुरक्षा दिने निकाय हो की व्यापारी भन्दै प्रश्न समेत गरेका छन् ।
‘आर्मी सुरक्षा दिने निकाय हो की ठेक्कापट्टा लिने निकाय’ –उनले भने– ‘भोजभतेर गर्ने निकाय हो या मेडिकल चलाउने निकाय।’
सांसद सिंहले अख्तियारकाे उजुरीका आधारमा कसरी मुद्दा दायर गर्छ भन्ने विषयमा समितिमा जानकारी गराउनुपर्ने माग समेत राखेका छन् ।
