काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ड्रागनको कथा भनेका छन् । बालुवाटार जग्गा घोटाला काण्डको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले ड्रागनको कथा भन्दै जग्गा काण्डलाई गलत मोड दिन खोज्नेहरुलाई प्रहार गरेका हुन् ।
आफ्नो सरकार दुई वर्ष पुगेको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दा प्रधानमन्त्रीले बालुवाटार जग्गा काण्डको पनि कुरा निकाले । अनि भने– ‘यस सन्दर्भमा केही साथीहरुको भूमिका एउटा चिनियाँ लोककथासँग मिल्दो देखियो । लोककथाका अनुसार एकजना युवा ‘ड्रागन’ खुब मन पराउँथ्यो । उसले आफ्ना सबै सरसामन, लुगाफाटा र यहाँसम्म कि बिछ्यौनाको तन्ना र तकियामा पनि ड्रागनकै चित्र कुँद्यो ।’
प्रधानमन्त्री ओलीले यसरी कथा अगाडि बढाए– ‘आफ्ना भक्तको प्रेमबाट प्रभावित भएर एकरात ड्रागन उसलाई दर्शन दिन आएछ । साक्षात् ड्रागन, चित्रको ड्रागनभन्दा अजङ्गको, डरलाग्दो थियो । भक्तको सातो उड्यो र उसको भागाभाग भयो ।’
कथा सुनाइसकेपछि उनले कथालाई बालुवाटार जग्गा काण्डसँग गाँसेर भने– ‘सरकारले ललिता निवास प्रकरणमा समितले जे प्रतिवेदन दियो, त्यसलाई आवश्यक कारबाहीका लागि संवैधानिक अङ्ग– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । आयोगले छानविन गरुञ्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्नेगरी ‘खोई त कारबाही’ भन्दै प्रश्न गरिरहे । यो शृङ्खला आरोपितहरुविरुद्ध मुद्दा दायर हुने दिनसम्मै चलिरह्यो । छानविनको समयमा होस् वा त्यसपछि सरकार शान्त रह्यो । र, सरोकारवाला निकायद्वारा विधिपूर्वक गरिने काममा सहयोगी बन्यो ।’
प्रधानमन्त्री ओलीले अगाडि भने– ‘आरोपितहरु विरुद्ध जब मुद्दा दायर भयो– देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्रागन प्रेमी युवाको जस्तै रह्यो ।’
यतिमा प्रधानमन्त्री ओली रोकिएनन् । उनले अर्काे झटारो हाने– ‘यस सन्दर्भमा म एउटा गीत– “देखाउनेले दाग देखायो किन रुवाबासी” स्मरण गर्न चाहन्छु ।’
