काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले भने– ‘जनता भन्छन् कोरोना क्वारेन्टलस्थल भक्तपुरमा राख्नु र नगरकोट सडक नबनाउनु स्थानीयलाई भगाउनु हो ।’
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट जवाफ दिए– ‘कोरोनाका बिरामी नेपालले ल्याएको छैन ।’
नेपाली विद्यार्थीलाई ल्याउन नेपाल वायु सेवा निगमको चार्टर विमान शनिबार काठमाडौंबाट उड्दै छ । त्यसअघि प्रधानमन्त्री ओलीले उनीहरुमा कुनै संक्रमण नरहेको स्पष्ट पारेका हुन् ।
कुनै पनि देशमा बिरामी भए निको नभइ ल्याउँन नपाइने भन्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नभएका विद्यार्थीलाई जाँच गरेर ल्याउन लागेको बताए । उनले भने– ‘त्यहीपनि कतै बाटोमा संक्रमण भयो कि भनेर क्वारेन्टाइनमा राख्नुपरेको हो ।’
७७ जिल्लामध्ये कहीँ न कहीँ त राख्नु पर्ने भन्दै उनले प्रश्न गरे– ‘डाक्टर र अस्पताल नभएको कुनै कुनामा लगेर राख्ने ? मेरो जिल्लामा राख्नुहुँदैन भनेपछि कुन चाँही जिल्लामा राख्ने त ?’
अनुकुलता र सुविधा भएका ठाउँमा राख्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले चिकित्सक अस्पताल लगायत सबै सुविधा भएको भक्तपुरलाई रोजिएको बताए । उनले भने– ‘चिन्ता नगर्नुस्, भक्तपुर मेरो जिल्ला हो, म त्यहीँ बस्छु ।’
त्यतिमा रोकिएनन् प्रधानमन्त्री ओली ठट्यौली पारामा भने– ‘अन्त विवाद होला भनेर आफ्नै जिल्लामा राख्ने निर्णय गरेको हूँ ।’
प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभामा सरकारका दुई वर्षका उपलब्धि सुनाएका थिए । सोही विषयमा सांसद्हरुले प्रश्न र जिज्ञासा राखेका थिए । ओलीको नेतृत्व सरकार गठन भएको शनिबार २ वर्ष पूरा भएको छ ।
निगमको विमान शनिबार काठमाडौंबाट उड्दै छ । सो विमान भोलि बिहान काठमाडौं आइपुग्ने छ । वुहानबाट फर्कन १८२ जना विद्यार्थीले निवेदन दिएका छन् । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
सासंद् सुवालले शहिदका आमाहरुले प्रधानमन्त्री ठगहरुको घेरामा रहेको बताएका पनि सुनाएका थिए ।
