काठमाडौं । सरकारले सैनिक ऐन संशोधन गर्ने भएको छ । यस सम्बन्धी विधेयक प्रतिनिधि सभाको आजको बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलले पेस गर्नेछन् ।
नेपाली सेनाले आफ्नै गुप्चरी संयन्त्र बनाउन सक्नेगरी सो विधेयक ल्याइएको छ ।
अहिलेको सैनिक ऐनको दफा १४३ को उपदफा २ को खण्ड झ संशोधन गर्न विधेयक ल्याइएको हो ।
अहिले ऐनमा नेपाली सेनाले गर्नसक्ने कामका सूचीकाे उपदफा 'ढ' मा यस्तो व्यवस्था छ–
इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फण्डबाट खर्च भएको रकम तथा भैपरि आउने कामको लागि भएको खर्च रकम मिन्हा सम्बन्धी विषयमा,
यो खण्डलाई संशोधन गरेर यस्तो बनाउन विधेयक ल्याइएको हो–
इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फण्डबाट खर्च भएको रकम तथा भैपरि आउने कामको लागि भएको खर्च रकम मिन्हा सम्बन्धी विषयमा,
यो संशोधन पारित भएमा नेपाली सेनाले आफ्नै इन्टेलिजेन्स सेवा गठन र सञ्चालन गर्न सक्नेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन सभापति भरत शाहले पेस गर्दैछन् । त्यसैगरी उर्जा मन्त्री, कृषि मन्त्री, स्वास्थ्य मन्त्री र कानुन मन्त्रीले सांसद्हरुले सोधेका प्रश्नहरुको जवाफ दिनेछन् ।
बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक मन्त्री घनश्याम भुषालले पेस गर्नेछन् ।
