काठमाडौं । राष्ट्रिय सभाले दुईवटा विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ।
मंगलबार बसेको बैठकले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।
भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ लाई कानुन, न्याय र संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले सभामा पेश गरेकी हुन् । यस्तै योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई शक्षा, विज्ञान तथा पैविधि मन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले पेश गरे ।
यस्तै कानुन मन्त्री शिवमायाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७६ पनि सभामा पेश गरिन् । मंगलबारको बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी फागुन ८ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
