काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै नेकपा सांसद् बलरामप्रसाद बाँस्कोटाले चीनबाट उद्धार गरिएका र उद्धार हुन नपाएका नेपालीकाे पछिल्लो अवस्थाका बारे जानकारी मागेका छन् ।
उनले सरकारले उद्धार गर्न जाने क्रममा सामान्य ज्वरोका कारण स्वदेश नल्याइएका र स्वदेश ल्याइ क्वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्य अवस्था कस्ताे छ त्यसबारे सरकारसँग जानकारी माग गरेका हुन् ।
उनले भने– ‘नेपाल सरकारले संक्रमणका कारण चार विद्यार्थीलाई उद्धार गरेको थिएन । ती चारजना र उद्धार गरी क्वारेन्टाइनमा राखिएका विद्यार्थीको स्वास्थ्य अवस्था कस्तो छ ? त्यसकाे जानकारी गराउन माग गर्दछु ।’
सरकारले गत शनिबार चीनको वुहान प्रान्तबाट एक सय ७५ नेपालीलाई वाइडबडी जहाज मार्फत् उद्धार गरेको थियो । उद्धार गरीएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिएको छ । स्वदेश फर्किन आवेदन दिएकामध्ये चार जनामा सामान्य ज्वरो देखिएका कारण उद्धार गरिएको थिएन ।
