काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा हिनामिना प्रकरणको विषयमा नेपाली कांग्रेसका सांसद् गगन थापाले व्यंग्य गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् गगनले स्वस्थानी कथा वाचन शैलीमा बालुवाटार प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई जोगाएको भन्दै व्यंग्य गरेका हुन् ।
नेता पौडलका छोरा नवीनले आफूले किनेको जग्गा फिर्ता दिन मञ्जुर रहेको भन्दै बालुवाटार प्रकरणमा उनलाई उन्मुक्ति दिएको थियो ।
‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि, अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु, थाहा पाइहाले होइन भन्नु’– गगनले भने – ‘चित्त बुझाउन नसके अप्ठ्यारोमा परे, हत्पत चोरीको सामान फकाएउनु र दुई पटक विष्णु विष्णु भन्नु ।’
यस्तै विष्णु पौडेलको बचाउ गरेको भन्दै उनले मन्त्री गोकुल बाँस्कोटालाई पनि यसमा मुछेका छन् । उनले भने – ‘त्यसमा पनि लोकले चित्त बुझाएन भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु ।’
उनले थपे– ‘त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैन ।’
बैठकमा आफ्नो भनाइ सक्दै उनले भने – ‘इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण वर्णनं प्रथम अध्याय धन्यवाद ।’
