काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठक प्रश्न्नोत्तर कार्यक्रममा सांसद्ले सोधेको प्रश्नको जवाफ दिदै उनले मुआब्जा विवाद नरहेको बताएका हुन् ।
सांसद् डिला संग्रौलाले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा विवाद समाधान नहुनुकाे कारण साेधिन् । पश्चिम सेती आयाेजनासँगकाे सम्झाैता खारेज भएकाे सन्दर्भ जाेड्दै उनले राष्ट्रिय गाैरवका आयाेजनामा कमिशनकाे खेल राेक्न चालिएकाे कदम बारे प्रश्न गरिन् ।
प्रश्नकाे जवाफ दिदै मन्त्री पुनले भने बुढीगण्डकी जलविद्युत आयोजनाकाे मुआब्जामा कुनै विवाद नरहेकाे प्रष्ट पारे । उनले गोर्खाका ८० प्रतिशत र धादिङका ७० प्रतिशत जग्गा धनीले मुआब्जा पाइसकेकाे जानकारी दिए । बाँकी जग्गाधनी मुआब्जा पाउने क्रममा रहेकाले यसमा विवाद नभएकाे बताए ।
यस्तै आरुघाट, आरखेत र खहरेबजार क्षेत्रको मुआब्जा समेत निर्धारण भइसकेको उनले बताए ।
यी क्षेत्रमा याेजना प्रभावितका केही गुनासा र माग रहेकाे मन्त्री पुनले बताए । मुआब्जा दिँदा ह्रास कट्टी नगरियोस् भन्ने माग आएको उनले जानकारी दिए ।
आयाेजना प्रभावितका माग सम्बोधन गर्न आवश्यक प्रकृयाको लागि अर्थमन्त्रालयमा र मन्त्रिपरिषद् लैजाने तयारी भएकाे उनले बताए। उनले भने– ‘अर्थमन्त्रालयले अहिलेसम्म यस्तै खालका लाभकर लिएका वा नलिएका केही उदाहरण छन् भने पठाउन भनेकाले चिलिमे लगायतका उदाहरण पठाएका छौं । यस्तै माथिल्लाे तामाकोशीमा लाभकरमा पनि ह्रासकट्टी पनि लिएको रहेछ यो सबै घटनाहरु अर्थमन्त्रालयमा पठाएका छौं ।’
पश्चिम सेतीकाे बारेमा बाेल्दै उनले याे आयाेजना लगानी बाेर्डसँग रहेकाे बताए । याे आयाेजनासँगै अर्काे आयाेजना एसआर ६ सँगै बनाउँदा आर्थिक रुपमा सम्भव देखिएकाे उनले जानकारी दिए ।
पुरक प्रश्न साेध्दै सांसद् संग्राैलाले बुढीगण्डकीकाे मुआब्जा विवाद अझै नसकिएकाे बताइन् । यस्तै देवप्रसाद तिमिल्सिनाले बागमती सिंचाई आयाेजनामा बजेट नदिनुकाे कारण साेधेका छन् । राैतहटमा बिजुली वितरण पनि नभएकाे उनले गुनासाे गरे । दिव्यमणि राजभण्डारी माथिल्लाे तामाकाेशीकाे ९८ प्रतिशत याेजना राेकिइरहेकाे छ । ठूला याेजनामा अन्याैलता देखिँदा साना र मध्यम याेजनामा के याेजना छ भनेर साेधेका थिए ।
मन्त्री पुनले सांसद् दिव्यमणिकाे प्रश्नकाे जवाफ दिँदै माथिल्लाे तामाकाेशी परियाेजनाकाे ९९ प्रतिशत काम सकिएकाे र यही वर्षमा याे आयाेजनालाई पूरा गर्ने गरी काम अघि बढेकाे बताए । यस्तै मझाैला आयाेजनाहरुमा पनि ध्यान दिइएकाे उनले प्रष्ट पारे ।
सांसद् देवप्रसादकाे प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले बागमती सिंचाई योजनालाई प्रथमिकतामा राखेको र बजेटकाे अन्य शीर्षकबाट रकमान्तर गरेर भएपनि काम गरिने बताए । यस्तै रौतहटमा बिद्युत विस्तार गर्ने बारे पनि काम भइरहेकाे उनले बताए ।
उनले भने– ‘रौतहटमा याे वर्ष पूर्णरुपले विद्युतीकरण गर्दैछौं । त्यसैले त्यहाँ मुसहर वा अरु कुनै समुदायले बिजुली नपाउने अवस्था रहँदैन ।’
