काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्गै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्था सहितको यो विधेयक पेश गरेका हुन् ।
उनले नेपालको संविधान बमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गरेकाे जानकारी दिए । हाल प्रचलनमा रहेकाे सैनिक एैन २०६३ मा संशाेधन गर्नुपर्ने भएकाले विधेयक सदनमा पेश गरिएकाे उनले बताए ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ पेश गरेका थिए ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धि अन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गरेका थिए ।
यसैगरी आजको बैठकबाट ०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद् भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
