काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध गरेकाे हो । बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा मुछिएकाे भन्दै कांग्रेसले बर्खास्त गर्न माग गरेकाे हाे ।
बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसद् जीतेन्द्रनारायण देवले बाँस्कोटामाथि छानबिन समिति बनाउन माग गर्दै यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी नगराएसम्म सदन चल्न नदिने बताए ।
उनले भने– ‘७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको छ, सरकारको प्रवक्तासमेत रहेको र प्रधानमन्त्री केपी ओली निकटस्थसमेत रहेको मन्त्रीले सीधै कमिसनको कुरा गर्नु आपत्तिजनक छ ।’
अडियो टेप नै सार्वजनिक भएको भन्दै उनले भने– ‘प्रधानमन्त्रीजी साँच्चै नै शून्य भ्रष्टाचारको पक्षमा हुनुहुन्छ भने अविलम्ब सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । घटनाबारे दुधको दुध, पानीको पानी हुनेगरी छानबिन समिति बन्नुपर्छ ।’
प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने भन्दै उनले भने– ‘निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न सक्दैन ।’
सांसद् देवले बोलिसकेपछि कांग्रेसका अन्य सांसद्हरुले उठेर विरोध जनाए ।
सभाका अध्यक्ष गणेसप्रसाद् तिमिल्सिनाले बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । उनले भने– ‘यहाँहरुले आफ्नो कुरा राख्नु भएको छ । सरकारको मन्त्री पनि यहाँ हुनुहुन्छ । र यो सबै सरकार समक्ष सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री समक्ष र सम्बन्धित पार्टी समक्ष सबै कुरा पुग्नेनै छ र यहाँहरुका मागको बारेका सरकारको धारणा आउने नै छ । हामट्ठ हाउस चलाउदै माग राख्दै जादाँ राम्रो हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले हाउस पनि चलाउ र आफ्ना कुरा पनि राखौ र सरकारले उचित सम्बोधन गर्ने छ ।’
तर कांग्रेसका सांस्दहरु बसेनन् उठेर विरोध गरिरहे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक १५ फागुनमा बस्ने घाेषणा गर्दै बैठक स्थगित गरे ।
