काठमाडौं । कांग्रेसले अवरोध गर्ने, सत्तापक्षलाई बोल्न नदिने भएपछि प्रतिनिधि सभा बैठक नै नबस्ने अवस्था आएको छ ।
एक बजेका लागि निर्धारित बैठक अहिलेसम्म बसेको छैन । नयाँ बानेश्वर स्थित संसद् भवनमा सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा कांग्रेस र नेकपाका नेताहरु बीचको छलफलमा सहमति हुन नसक्दा बैठक सुरु हुन नसकेको हो । सभामुखकाे कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका सचेतकहरु लगायतका नेताहरु बीच छलफल भइरहेकाे तर सहमति हुन नसकेकाे बताइएकाे छ ।
स्राेत अनुसार तीन बजे सञ्चार मन्त्री काठमाडाैं अाइपुग्ने र उनले सदनमा जवाफ दिने सत्तापक्षकाे भनाई रहेकाे छ । तर, कांग्रेसले भने राजीनामा नअाएसम्म सदन चल्न नदिने भनेकाे छ ।
सभामुख सापकोटाले प्रतिनिधि सभा अवरोध सम्बन्धमा नयाँ कार्यशैली अपनाउँदा बैठक बस्न ढिलाई भएको हो । सापकोटाले अवरोध गर्ने पक्षलाई बोल्न दिने हो भने अर्काे पक्षलाई पनि बोल्न दिने कार्यशैली अघिल्ला बैठकहरुबाट अपनाएका छन् ।
अवरोध गर्ने पक्षले आफ्ना कुरा सदनमा भन्ने, अर्काे पक्षले बोल्न नपाउने अवस्था हुनुहुँदैन भन्ने सत्तापक्षको भनाई रहेको बुझिएको छ । सभामुखको कार्यकक्षमा अहिले भइरहेको छलफलमा कांग्रेसले आफ्ना कुरा राख्ने र अवरोध गर्ने भनेपछि विवाद भएको हो ।
‘कांग्रेसले आफ्ना कुरा सदनमा राखेपछि अवरोध गर्ने हो भने हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्छ’– नेकपाका एक सांसद्ले सनराइज खबरलाई भने ।
स्रोत अनुसार आजको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने अवस्थामा पुगेको छ ।
