काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधि सभामा आज विशेष रुपमा प्रस्तुत हुने भएको छ ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा प्रकरणमा कांग्रेससहित प्रतिपक्षी दलका सांसद्लाई बोल्न दिइए सदन अवरोध नगर्ने रणनीति कांंग्रेसले बनाएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सनराइज खबरसँग भनिन्–‘जल्दोबल्दो विषयमा सबै प्रतिपक्षीलाई बोल्न दिइयो भने सदन अवरोध गर्दैनौं ।’
तर, यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सदनमै आएर जवाफ दिनुुुुुुुपर्ने उनले बताइन् । बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि यसबारे छलफल हुने उनले बताइन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिसनका लागि बार्गेनिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका छन् ।
कांग्रेसले सदनमा साझा रणनीति साथ प्रस्तुत हुन हिजो साना दलहरूसँग छलफल गरेको थियोे । बैठक दिउँसो १ बजे बस्दैछ ।
यस्तो छ बैठकको कार्यसूची
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, २०७६’ पेस गर्ने छन् । अाेली उपस्थित नभए उनको तर्फबाट अरु मन्त्रीले पेस गर्नेछन् ।
यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री खतिवडाले नै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि मन्त्री पोखरेल नै शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री श्री घनश्याम भुषालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवदे न सहितको बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
उनले नै ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । मन्त्री भुषालले नै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि उनले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
