काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरोध नगर्ने रणनीति अपनायो । बैठक चल्दा सरकारलाई प्रहार गर्न सकिन्छ, सरकारको भण्डाफोर गर्न सकिन्छ, अवरोध गर्याे भने उल्टै रक्षात्मक बनिन्छ भन्ने विश्लेषण साथ कांग्रेसले सदन अवरोध नगरेको हो ।
यद्यपि, प्राविधिक रुपमा चाहिँ आज कांग्रेसले सदन अवरोध गर्यो । बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसद्हरु आआफ्नो आसनबाट उठेका थिए । त्यसपछि सभामुखले कांग्रेसका डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिए ।
अवरोधमा प्रतिपक्षी सबै दललाई बोल्न दिनुपर्ने माग कांग्रेसले अनौपचारिक रुपमा राखेको थियो । त्यसैले डा. रिजालपछि समाजवादीकी सरिता गिरीलाई बोल्न सभामुख अग्निप्रसाद सापकोटाले दिए ।
गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने नत्र सदन चल्न नदिने धम्की कांग्रेसले दिएको थियो । तर, उसले रणनीति फेर्याे ।
सभामुखले चाहेका थिए भने प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन निर्देशन दिन सक्थे । तर, उनले त्यसो गरेनन्, उनले केही अष्पस्ट र घुमाउरो ‘ध्यानाकर्षण’ गराए ।
सभामुखले भने– ‘जे विषय प्रमुख प्रतिपक्षी दलबाट उठेको छ, यो सार्वजनिक लेखा समितिमा पनि छलफल चलिरहेको जानकारी मलाई आएको छ । अहिले जे विषय उठाउनुभएको छ, यो विषयप्रति सरकारको ध्यानाकर्षण हुने नै छ भन्ने मैले विश्वाश लिएको छु र ध्यानाकर्षण गराउँछु ।’
