काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसद् पार्वती विशुंखेले फरक आवाज बोलिन् । उनले भनिन्– ‘भ्रष्टाचारीको कुनै पार्टी हुँदैन, पार्टीभित्र भ्रष्टाचारीलाई कुनै ठाउँ हुँदैन ।’
शून्य समयमा बोल्दै उनले भनिन्– ‘अभियोग लाग्दैमा सबै भ्रष्टाचारी हुन्छन् भन्ने हुँदैन, अभियोग जो कसैलाई लाग्न सक्छ तर यसको प्रमाणित गर्ने काम अदालतको हो ।’
‘अभियोग कसैलाई लाग्छ भने व्यक्तिलाई लाग्छ, पार्टीलाई होइन’– उनले भनिन्– ‘भ्रष्टाचारको मुद्दामा व्यक्ति लड्छ पार्टी लड्दैन ।’
भ्रष्टाचारीलाई सत्तापक्ष र प्रतिपक्षको आँखाले नहेरौं भन्ने आग्रह गर्दै उनले भनिन्– ‘सबै सांसदलाई एउटै नजरले नहेरौं । धेरै सांसद् इमानदार र कर्तव्यनिष्ठ पनि छौं ।’
२०४८ सालदेखि भ्रष्टाचार अभियोग लागेका सबैको छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाइयोस् भनी उनले माग गरिन् ।
