काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसद्हरुले चोटिला र घोचिला अभिव्यक्ति दिएका छन् ।
कांग्रेस सांसद् गगन थापाले भने– ‘काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रवक्ताले गरेका काम प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने ? प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा चाहिँ के छ ?’
समाजवादीकी सरिता गिरीले भनिन्– ‘नेकपाले आफ्नो समाजवादलाई कमिसनवाद बनाए हुन्छ ।’
कांग्रेसका सांसद् तेजुलाल चौधरीले भने– ‘संविधान दोबाटोमा राखेर बजाइने मादल होइन जसले जतिबेला त्यतिबेला बजाउने भन्ने प्रधानमन्त्रीज्यूको स्वादे जिब्रो र आँटलाई बधाई छ । उनले भने– ‘ गोकुलप्रसाद बाँस्कोटा महान आत्मा हुन्, उनलाई बधाई । भ्रष्टाचारको काँडाले सबै नैतिकता र इज्जतको धज्जी उडाइसकेर पनि सरकार प्रमुखको काँधमा चढेर हाकाहाकी डुक्रिन सक्ने महान आत्मबललाई बधाई ।’
देवेन्द्रराज कँडेलले भने– ‘बालुवाटार जग्गा प्रकरणमा दोषी देखिएपछि जग्गा फिर्ता गर्दा माफी पाउने कस्तो न्याय हो ?’
पार्वती विशुंखेले भनिन् – ‘सबै सांसदलाई एउटै नजरले नहेरौं । धेरै सांसद् इमानदार र कर्तव्यनिष्ठ पनि छौं ।’
पार्वती डिसी चौधरीले भनिन्– ‘प्रधानमन्त्रीका विश्वाशपात्र नै भ्रष्टाचारमा परेपछि कसलाई विश्वास गर्ने ?’
प्रकाश रसाइली स्नेहीले भने– ‘चुनावका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टको शासन आयो भने रुन पनि पाइँदैन भन्नुभएको थियो, त्यो अहिले प्रमाणित भएको छ ।’
उमा अधिकारीले भनिन्– ‘जन्मदिन मनाउँदा केक काट्ने हाम्रो संस्कृति होइन । गणेशको पूजा गर्नुपर्छ, दियो बाल्नुपर्छ ।’
प्रदीप यादवले भने– ‘जनताले रिजेक्ट गरेका एकजना नेतालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन किन ?’ उनले बामदेव गौतमको चर्चा गर्दै भने– ‘बामदेव काकालाई....’ उनले यति बोल्दाबोल्दै माइक काटियो । प्रतिनिधि सभाको शून्य समयमा बोल्न सांसद्हरुले एक मिनेट समय पाउँछन्, एक मिनेट सकिनासाथ माइक काटिन्छ ।
गजेन्द्रबहादुर महत– ‘बहालवाला मन्त्रीमाथि आरोप छ, दुई चारदिन यो सदन बन्द गर्नुपर्ने हो । पूर्व मन्त्रीलाई आरोप लाग्दा दुईचार दिन सदन बन्द गरेका थियौं, बहालवालालाई लाग्दा झन् हुनुपर्ने हो । तर, बन्द भएन । भ्रष्टाचार निरन्तर हुने रहेछ । टाठा मन्त्री हुँदा आफैं डिल गर्ने रहेछन्, लाटा मन्त्री हुँदा कर्मचारीले डिल गर्दा रहेछन् । जता कमिसन धेरै आउँछ त्यता धेरै बजेट पठाउने रहेछन् ।’
