काठमाडौं । कांग्रेस सांसद् पुष्पा भुसालले दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे सरकारकाे ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्– ‘दक्षिण कोरियामा रहेका नेपाली कोरोना भाइरसबाट त्रसित र चिन्तित छन्, सरकारले यसमा ध्यान दिनुपर्छ ।’
कोरोना संक्रमणलाई विश्व स्वास्थ्य संगठनले विश्वप्यापी आपतकाल घोषणा गरिसकेको भन्दै उनले सम्पन्नशाली देशले पनि यसको नियन्त्रण गर्न नसकेको बताइन् ।
तर, कोरोना पहिचानको पूर्वतयारी अत्यन्तै कमजोर भएको अवस्थामा सरकारले नेपाललाई कोरोना भाइरसमुक्त भनेकोमा उनले व्यङ्ग गरिन् । 'सरकारले नेपाललाई ‘कोरोना फ्री कन्ट्री’ भनेर नारा दियाे'- उनकाे भनाइ छ ।
भुसालले त्रिभुवन विमानस्थलमा रहेका स्क्यानर मेसिन बिग्रिएर थन्किएकाले तीनलाई तत्काल मर्मत गरेर सञ्चालनमा सरकारको ध्यानाकर्षण गराइन् ।
रोगको पहिचान, उपचार र क्वारेन्टटाइनका लागि आइसुलेसनको क्षमता घट्दै गएको भन्दै उनले यसमा सरकार गम्भीर नभएको बताइन् । ‘कोरोनाको जोखिम रहेको अवस्थामा यी कुरा अगाडि बढाउन सकेको छैन, यसमा सरकार समयमै गम्भीर हुनुपर्छ ।’
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद् धर्मशिला चापागाईंले पनि सरकारकाे ध्यानाकर्षण गराइन् । आफूलाई कोरियामा रहेका साथीले फोन नै गरेर कुरा उठाइदिन आग्रह गरेको बताउँदै उनले भनिन्- 'सरकारले यसमा तत्काल ध्यान दिनुपर्छ ।'
सुरुमा चीनको वुहानमा देखिएकाे कोरोना भाइरसको संक्रमण अहिले विश्वका २७ देशमा फैलिइसकेकाे छ । दक्षिण कोरियामा समेत काेराेना संक्रमित व्यक्तिकाे संख्या बढिरहेको छ ।
त्यहाँ रहेका नेपालीहरु भने अहिलेसम्म सुरक्षित छन् ।
कोरियामा कोरोनाले १० जनाको निधन भइसकेकाे छ । करिब ९ सय संक्रमित छन् ।
