काठमाडौं । प्रतिनिधि सभा बैठकमा कोरम नपुगेपछि सांसद् गणना गर्न तीन मिनेट घन्टी बजाइएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिन लाग्दा सांसद् देवप्रसाद तिमिल्सिनाले कोरम पुगेको छैन भनी आवाज उठाए । त्यसबेला बैठक लगभग रित्तो थियो । करिब ३० जनाजति सांसद् बैठकमा देखिएका थिए ।
त्यसपछि सभामुखको आसनमा बसेका सोमनाथ पाण्डेले गणपूरक संख्या गणना गराउन तीन मिनेट घन्टी बजाएर सांसद्हरुलाई भेला गर्न आदेश दिए । घन्टी बजेको सुनेपछि सभा भवन बाहिर तथा वरिपरि भएका सांसद्हरु हस्याङफस्याङ गर्दै सभा हलमा प्रवेश गरेका थिए ।
सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्दा २५ प्रतिशत अर्थात् ६९ जना हुनुपर्छ ।
तीन मिनेट घन्टी बजाइएपछि सचिवालयका कर्मचारीहरुले सांसद् गणना गरे । गणना गर्दा ७० जना सांसद् देखिए ।
त्यसपछि बैठक अगाडि बढ्यो ।
