काठमाडौं । सत्तारुढ नेकपा भित्र अस्वाभाविक रुपमा संविधान संशोधनको बहस सुरु भएको छ । बहसमा अर्का पात्र अगाडि सरेका छन्– पूर्व मन्त्री तथा सांसद् शेरबहादुर तामाङ ।
उनले आज प्रतिनिधि सभाको बैठकमा शासकीय स्वरुप परिवर्तन गरेर निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने विचार राखेका छन् ।
विगत संविधान सभामा आफूले कार्यकारी राष्ट्रपतिको पक्षमा विचार राखेको स्मरण गर्दै उनले भने– ‘कार्यकारी राष्ट्रपतिमा नगई सुखै छैन ।’
शासकीय स्वरुपको सवालमा संविधान चुकेको बताउँदै उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने गरी संविधान संशोधन गर्नपर्ने बताए । उनले पूर्ण समानुपातिक संसदीय प्रणालीमा जानुपर्ने पनि बताए । उनले भने– ‘अहिले हामीले अंगिकार गरेको प्रदेशको व्यवस्था भित्रको संरचनालाई अलि घटाएर त्यसलाई एउटा समन्वयकारी निकायमा परिणत गर्नु आवश्यक देखिन्छ ।’
यसैगरी उनले ७५३ स्थानीय तहको संरचनालाई ३५० मा घटाउनुपर्ने बताए । उनले भने– ‘काठमाडौं उपत्यकालाई वृहत् काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर त्यसको प्रत्यक्ष निर्वाचन गर्ने विधि अपनाउनुपर्छ ।’
पूर्ण समानुपातिकको वकालत गर्दै उनले भने– ‘निर्वाचन विस्तारै अस्वस्थ हुँदै जाने र पैसाले निवार्चनलाई प्रभावित पार्ने तथा निर्वाचन जितेपछि जनताप्रति होइन निर्वाचन खर्चप्रति बफादार हुने कुसंस्कारको अन्त्य हुनेछ ।’
उनले भने–‘यो महंगो शासकीय स्वस्पलाई परिवर्तन गरी आमनागरिकको जीवनस्तर उकास्न हामी सबैले सोच्ने बेला आएको छ ।’
सत्तारुढ दल भित्र र बाहिर पनि संविधान संशोधनका आवाज बढ्दै गएको बताउँदै उनले एकै छिन ढिला नगरी शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताए ।
