काठमाडौं । सांसद्हरु हाजिर गर्दै टाप ठोक्दै गर्नाले आज प्रतिनिधि सभामा लाजमर्दाे अवस्था सिर्जना भएको छ ।
संविधानको धारा ९४ मा सदनमा कुनै पनि निर्णय गर्नपर्दा २५ प्रतिशत सदस्य उपस्थित भएकै हुनुपर्छ । तर, सांसद्हरु त्यति संख्यामा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखको आसनमा रहेका सोमप्रसाद पाण्डेले निर्णयार्थ प्रस्तुत गर्न खोजेका थिए । तर सांसद् अतहर कमाल मुसलमानले नियमापत्ती गर्दै सदनमा गणपूरक संख्यामा सांसद् नरहेको भनेका थिए ।
त्यसपछि सभामुखको आसनबाट पाण्डले तीन मिनेट घन्टी बजाउने निर्देशन दिए । तीन मिनेट घन्टी बज्यो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटा पनि सभा हलभित्र आए । उनले सभामुखको आसन समाले । सचिवालयका कर्मचारीले सांसद् गणना गर्दा ५८ जना मात्र थिए । गणपूरक संख्या पुग्न ५९ जना सांसद् चाहिन्छ ।
त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
त्यस अघि पनि गणपूरक संख्या नपुगेको भनी गणना गरिएको थियो । तर, ६९ सांसद् हुनुपर्नेमा ७० जना सांसद् भएको पाइएपछि बैठक अगाडि बढेको थियो ।
हाटा शब्द निजामती क्षेत्रमा व्यापक प्रचलनमा छ । हाजिर गरेर टाप ठोक्ने कामलाई छोटकरीमा ‘हाटा’ भन्ने गरिएको छ ।
