काठमाडौं । सांसद्हरु हाजिर गर्दै टाप ठोक्दै गर्नाले प्रतिनिधि सभाको बैठक लज्जाजनक पाराले स्थगित भएको छ ।
गणपूरक संख्या पनि नपुग्ने गरी सांसद्को अभाव भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर, बैठक स्थगित भएको अवधीमा पनि सांसद् जुट्न नसक्दा सूचना टाँस गरेर भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो ।
शून्य समय र विशेष समय सकिएपछि सदनको खास र सर्वाधिक महत्वको काम सुरु हुन्छ । त्यो काम हो विधेयक उपर छलफल गर्ने । तर, यही समयमा सांसद्हरुको उपस्थिति न्यून हुने गरेको छ । उनीहरु बैठक छाडेर हिँडिसक्छन् ।
मंगलबार पनि भयो त्यस्तै । मंगलबार सांसद्को संख्या अर्थात् २५ प्रतिशत सांसद् नपुगेपछि दुई पटक तीन मिनेट घन्टी बजाएर सांसद्हरुलाई जुटाइएको थियो । पहिलो पटक सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिन लाग्दा देवप्रसाद तिमिल्सिनाले कोरम पुगेको छैन भनी आवाज उठाएका थिए । त्यसबेला बैठक लगभग रित्तो थियो । करिब ३० जनाजति सांसद् बैठकमा थिए ।
त्यसपछि सभामुखको आसनमा बसेका सोमनाथ पाण्डेले गणपूरक संख्या गणना गराउन तीन मिनेट घन्टी बजाएर सांसद्हरुलाई भेला गर्न आदेश दिए । घन्टी बजेको सुनेपछि सभा भवन बाहिर तथा वरिपरि भएका सांसद्हरु हस्याङफस्याङ गर्दै सभा हलमा प्रवेश गरेका थिए । सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्दा २५ प्रतिशत अर्थात् ६९ जना हुनुपर्छ ।
त्यसबेला ७० जना सांसद् उपस्थित भए । बैठक अगाडि बढ्यो । तर, सांसद्हरु गणपूरक संख्या पूरा गर्न मात्र सभा भवनमा छिरेका रहेछन् । बैठक अगाडि बढ्नासाथ सांसद्हरु भटाभट भाग्न थाले ।
त्यसपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरियो । तर सांसद् अतहर कमाल मुसलमानले नियमापत्ती गर्दै सदनमा गणपूरक संख्या नपुगेको भने । सभामुखले गणना गराए । ६९ हुनुपर्नेमा ५८ जना सांसद् मात्र सभा हलमा थिए । सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
तर, १५ मिनेटपछि पनि बैठक बसेन । किनभने ६९ जना सांसद् उपस्थित हुने सम्भावना नै देखिएन । अन्ततः भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।
विगतमा पनि सांसद्हरुले हाटा (हाजिर गरेर टाप ठोक्ने काम) गर्दा यसरी बैठक स्थगित हुने गरेको थियो ।
