काठमाडौं । सांसद्हरुले तत्कालीन सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद्हरुले बाँस्कोटा लगायत प्रकरणबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सांसद् राजेन्द्र कुमार केसीले पूर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।
आफ्ना कामको जस लिन लामो समय लिने सरकार यस विषयमा जवाफदेही नभएको बताउँदै उनले भने– ‘आफ्ना जस लिन २/२ घण्टा सदन्मा बाेल्ने प्रधानमन्त्री ज्यू, आज यत्र ठूला काण्ड बाहिर अाउँदा जवाफ दिनु पर्ने कि नपर्ने ?’
सांसद् रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण बाहिरिएको धेरै दिन बित्दा समेत सरकारले स्पष्ट नपारेको गुनासो गरे । उनले भने– ‘पूर्व मन्त्री बाँस्कोटा र विजय मिश्रबीच ७० करोड भ्रष्टाचार सम्बन्धि अडियो सार्वजनिक भएको धेरै दिन भइसक्यो, सरकार चुप छ, यसबारे सत्य तथ्य के हो जानकारी चाहियो ।’
सांसद् रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परेको बताइन् । तत्काल उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउँदै उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएका हुम्लाका जनताको माया नलागेकाे बताइन् ।
उनले भनिन्- ‘प्रधानमन्त्री ज्यू बर्थ डे केकका लागि हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अप्ठ्यारो लागेन ? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु पर्याे, सुत्केरी हुन नसकेर महिलाहरु मर्नु पर्याे, बरु औषधि चार्टर गरेर हुम्ला पठाइ जनता बचाउँनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन ?’
सांसद् मिना बुढाले प्रश्न गरिन्– ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस लगायत अरर्बौ भ्रष्टाचार भइरहँदा किन चुप बस्नुहुन्छ प्रधानमन्त्री ?’ स्वाधिनता र स्वाभिमानको कुरा गरेर नथाक्ने नेपाली विदेशी दाताको आगाडि निहुरिने गरेको उनकाे दाबी छ ।
सांसद बिमला नेपालीले भारतले अतिक्रमण गरेका भूभाग नेपालको नक्सामा पार्न सरकारलाई कांग्रेसले दिएको ऐक्यबद्धता कार्यन्वयन हुन नसकेको बताइन् ।
सांसद मिन बहाहदुर विश्वकर्माले दलितका विषयमा बोेले ।
तारकेश्वर नगरपालिका–१० स्थित श्रीकृष्ण विडारीको घरमा डेरा गरि बस्ने कैलाली धनगढीकी दिपा नेपालीलाई दलित भनेर घरवेटीले घर खाली गर्न यातना दिएको बताउँदै उनले कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद् भवानीप्रसाद खापुङले कालाबजारी, कमिसनखोर, तस्कर, हत्यारा र भ्रष्ट्राचारीहरुले धमिराले जस्तो मुलुकलाई भित्र भित्र खोक्रो बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश्वरजंग गहतराज अथकले बाँकेको राप्ती सोनारी र नरेन्द्रपुर गाउँपालिकाको विद्युतिकरणका लागि ग्रामिण विद्युतिकरणको ठेक्का पाएको श्री उस्मा गौरी पार्वती जेविले काम नथालेको बताए ।
४६ लाख रुपैयाँ मोबिलाईजेसन रकम लिएर पनि हालसम्म काम नथालेकाे भन्दै उनले सो कम्पनीलाई कारवाही गरी गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद् मोहन बाँनियाले सडक देखि सदनसम्म भ्रष्टाचारको विषयले चर्चा पाएको बताए । भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले आग्रह पूर्वाग्रह नराख्ने विश्वास व्यक्त गरे । सरकारले कारवाहीका लागि खुट्टा नकमाउने उनकाे भनाइ छ ।
सांसद् राजबहादुर बुढा क्षेत्रीले काठमाडौंको सवारी जाम सही व्यवस्थापन गर्न सरकारकोे गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने– ‘काठमाडौंका सडकहरुमा गाडीको जाम र गाडी भित्र मान्छेको जाम, दुवै तिर जाम नहुनुपर्ने हो कसरी भयो यसमा सरकारको ध्यान जाओस् । ’
सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका चेकजाँचले मधेसको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।उनले भने– 'मधेसमा अब विजनेस व्यापार गर्ने हो कि होइन यो सरकारको नीति के हो म बुझ्न चाहन्छु, मधेसको बोर्डरमा केही सामान लग्यो भने बीचमै समातिन्छ, भैँसीको व्यापार गर्न पनि दिइन्न, आलु पनि इण्डियन हो भनेर समातिन्छ ।’
सिम्रौनगढबाट व्यापारका लागि लगिएको आलु वरियारपुरमा इण्डियन भनी रोकिएको बताउँदै उनले इण्डियन र नेपाली आलुको नमुना देखाइदिन सरकारसँग आग्रह गरे । उनले भने–‘नेपाली आलु कस्तो हुन्छ ? इण्डियन आलु कस्तो हुन्छ ? अर्को बैठकमा मलाई देखाईदिनुस्, मधेसको व्यापार यसरी रोक्नु हुँदैन ।’
