काठमाडौं । सांसद् मीना पाण्डेले उपसभामुख चयनमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले संवैधानिक प्रावधान अनुसार उपसभामुख महिला हुने भएकै कारणले ढिलाइ भएको हाे कि भन्ने अाशंका व्यक्त गरिन् । उनले प्रश्न गरिन्– ‘महिला उपसभामुख हुने कारणले नै सदन वेखबर भएर बसेको हो ? यसको जवाफ चाहियो ।’
उनले उपसभामुख चुनावको कार्यतालिका निकाल्न पनि ध्यानाकार्षण गराइन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रिक्त छ । सभामुख दाबी गरेकी शिवमायालाई राजीनामा दिन लगाएर नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख बनाएको थियो ।
सभामुख र उपसभामुख एउटै पार्टीबाट बन्न नमिल्ने संवैधानिक प्रावधानका कारण नेकपाले शिवमायालाई राजीनामा दिन भनेको थियो । शिवमाया अहिले कानुनमन्त्री छिन् ।
पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद पनि खाली थियो ।
