काठमाडौं । नेकपा सांसद् खिमलाल भट्टराईले पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै अालाेचना गरेका छन् ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले पार्टी अहिले नेताहरुकाे व्यवहारले राजनीतिक स्थायित्व माथि नै प्रश्न उठेको बताए । उनले भने– ‘गरिब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय हो, तर, केही घटनाले राजनीतिक स्थायित्व माथि नै प्रश्न उठेको छ ।’
सरकारले धेरै राम्रा काम गरेपनि नेताहरुका कारण त्यसको प्रचार नभएकाे भन्दै उनले प्रश्न गरे– ‘के नेकपाका नेताहरुले आफ्नो दायित्व विर्सन थाल्नुभएको हो ? के देश र जनताको हितकाे सट्टा आफ्नो हित र स्वार्थलाई सर्वोपरि ठान्ने गलत संस्कृति मनमा उत्पन्न हुन थालेको हो ?’
उनले अगाडि थपे– ‘नेकपा प्रति जनताको ठूलो साथ र भरोसा छ, तपाईंहरु सम्हालिनुहोस् ।’ जनताको अभिमत, आकांक्षा र आफ्नै बाचाहरुलाई ध्यानमा राखेर अगाडि बढ्न उनले पार्टीका सबै नेताहरुलाई आग्रह गरे ।
सरकार आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत भएर अगाडि बढेको सांसद् भट्टराईको भनाइ छ ।
‘पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगति गरेको छ, सडक, विमानस्थल, धार्मिक स्थलहरुमा भएको पूर्वाधार तथा पर्यटन विकासमा सरकार ज्यान फालेर लागेको छ’ – उनले भने ।
