काठमाडौं । नेकपा सांसद् जनार्दन शर्माले नेपाल ट्रष्टको जग्गासम्बन्धी निर्णयमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले मंगलबार ट्रष्टको सम्पति विवरण समेटिएको श्वेतपत्र जारी गरेका थिए । जसमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख छ ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले आफूलाई जबर्जस्ती जोडेर विवादमा ल्याइएको बताए । उनले भने– ‘०७४ असोज ३० गते नै गृहमन्त्रीबाट राजिनामा दिएर पत्रकार सम्मेलन गरेको थिएँ, तर सो श्वेतपत्रमा कार्तिक १३ गते निर्णय भएको भनेर त्यहाँ मेरो नाम जोडिएको छ ।’
असोज ३० गते नै आफूलाई बिना विभागीय मन्त्री बनाइएको र ती निर्णयमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ ।
श्वेतपत्र जारी भएपछि ट्रष्टको कार्यलय गएर निवेदन दिएर माइन्यूट माग्दा आफूलाई नदिइएको भन्दै उनलेआक्रोश व्यक्त गरे ।
आफूले यसबारे सबैसँग बुझेको भन्दै उनले भने– ‘ट्रष्टका कर्मचारीले पनि भन्नुभयो- निर्णयमा तपाईंको नाम थिएन, म गृहमन्त्री हुँदाका सचिव तथा अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि सोधें । उहाँले पनि यो विवरण विल्कुलै झुटो हो भन्नुभयो ।’
उनले प्रश्न गरे – ‘यो श्वेतपत्र हो कि अश्वेत पत्र ?’ ट्रष्टकाे सम्पत्तिसम्बन्धी निर्णयमा नाम जोडेर सरकारले आफूलाई तर्साउन र आकर्षण गराउन खोजेको उनको आरोप छ ।
कर्मचारीले नाम छैन भन्दा पनि जबरजस्ती आफ्नो नाम किन लेखियो भन्दै उनले प्रश्न गरे– ‘यसरी मलाई तर्साउन र आकर्षण गराउन खोजिएको हो ? सरकारले मलाई ढाँट्न ठग्न सक्ला, जनतालाई सक्दैन, कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट पर्याे ?’
उनले अगाडि थपे– ‘मलाई शंका भयो, सरकारलाई सहयोग गर्दागर्दै किन यसरी मेरो नाम जबर्जस्ती लेखियो, रक्षामन्त्री र सरकारबाट मलाई जवाफ चाहियो ।’
