काठमाडौं । कांग्रेस सांसद् बद्री पाण्डेले सेक्युरिटी प्रेस प्रकरणको अडियो काण्ड ढाकछोप गर्न केक काण्ड ल्याइएको बताएका छन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले भने– ‘तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड अडियो काण्ड छोप्न, प्रधानमन्त्री केपी शर्मा ओलीको राजर्षी तरिकाको जन्मोत्सव काण्ड ल्याइयो, केक काटियो ।’
प्रधानमन्त्रीको जन्ममोत्सव समारोहमा ८२ लाख रुपैयाँ खर्च भएको जानकारी आएको बताउँदै उनले भने– ‘जन्मोत्सवको काण्डका बारेमा प्रश्न उठ्न थालेपछि संविधान संशाेधनको बेमौसमी काण्ड ल्याइयो ।’
सरकार एकपछि अर्को काण्डै काण्डमा मुछिँएको भन्दै उनले ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गरे । उनले भने– ‘हामीले ७० करोड कमिसनको अडियो, जन्मोत्सव लगायतमा प्रधानमन्त्रीको जवाफ मागेका छौं, तर, सरकार मौन छ ।’
बाँस्कोटालाई बलिको बोको बनाइएको बताउँदै उनले भने– ‘यो काण्डमा बाँस्कोटा दृश्यमा देखिनुभयो, नेपथ्यमा प्रधानमन्त्री लगायत अरु शक्तिशाली व्यक्ति छन् भनेर चर्चा हुँदै छ, प्रवक्ता सरकारको मुख हो, मुखै त्यती बैरी छ भने सरकारको बाँकी शरीर के होला ?’
उनले अगाडि थपे – ‘बाँस्कोटालाई बलि चढाएर बाँकीले आफू पापबाट मुक्त हुन खोज्नु यो धार्मिक विश्वास होइन, भ्रष्टाचार हो ।’
सचिवालयमा बाँस्कोटालाई कारबाही गर्ने कुरा उठ्दा प्रधानमन्त्रीले पार्टीको एजेण्डा नभएको भनेर बचाउ गर्नुले पनि यसमा आशंका उब्जिएको पाण्डेको भनाइ छ ।
सञ्चार मन्त्रालय अन्गर्तका आयोजनाहरुमा अरबौ भ्रष्टाचारको खेल भएको भन्दै उनले ७० करोड कमिसन काण्डको अनुसन्धान गर्न माग गरे ।
