काठमाडौं । सांसद्हरु हाजिर गर्दै टाप ठोक्दै गर्नाले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएकाे छ । यसअघि मंगलबार पनि साेही कारण बैठक स्थगित भएकाे थियाे ।
अाजकाे बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
त्यसपछि कांग्रेस सांसद् देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरे । नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिन गर्न संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।
सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद् सङ्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति थिए । संवैधानिक प्रावधान अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद् सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ ।
एक चौथाइ सांसद्को उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंँदै बैठक स्थगिन गरे ।
प्रतिनिधि सभाको अर्काे बैठक यही फागुन १८ गते दिउँसाे १ बजे बस्नेछ ।
