काठमाडौं । संसदीय समितिले प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्लान क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानका समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय क्वारेन्टाइन नभएका वस्तुहरु आयात गर्न दबाब बढ्न थालेपछि समितिले मन्त्रालयलाई क्वारेन्टाइनमा कडाई गर्न निर्देशन दिएको हो ।
बैठकमा सांसदहरुले क्वारेन्टाइनसम्बन्धी कानुन निर्माण गरेर कडाईका साथ कार्यान्वयन गर्नुुपर्ने बताए । क्वारेन्टाइन जाँच नहुँदा गुणस्तरहीन वस्तुहरु आइरहेको भन्दै उनीहरुले यसबाट मानव स्वास्थ्यमा असर पार्ने बताए ।
प्लान क्वरोन्टाइनबिना बीउबिजन ल्याउँदा उत्पानमा समस्या हुने र किसानलाई नोक्सानी पु¥याउने भएकाले गम्भिर छलफल गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुको सुझाव छ । कानुन निर्माण भएपछि वस्तु आयात गर्न दबाब दिने स्थितिको अन्त्य हुने सांसदहरुको भनाइ छ ।
सांसद देवप्रसाद तिमल्सेनाले क्वारेन्टाइन नभएका वस्तुहरु नेपाल भित्रन दिन नहुने बताए । उनले भने – ‘त्यसका लागि कानुन निर्माण गरेर अगाडि बढेमा मन्त्री तथा सांसदको दबाबमा सामान ल्याउने परम्पराको अन्त्य हुन्छ ।’
सांसद् राजबहादुर बुढाक्षेत्रीले समितिले मूल मुद्दाहरुलाई छोडेर व्यक्तिविशेषको अनुहार हेरेर काम गर्न नहुने बताए । परम्परागत धङधङीले कानुन कार्यान्वयनमा समेत असर पारेको भन्दै उनले त्यसलाई विस्थापित गरी नयाँ तरिकाले अगाडि बढ्ने गरी नीति निर्माण गर्नुपर्ने बताए ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कानुनको व्यवहारिक पक्ष ख्याल गरेर काम गर्ने विषय सकारात्मक भएको बताए । कानुन व्यवहारिक रुपमा कार्यान्वयन गर्न ध्यान नदिएर आफ्ना कुराहरु मात्र कार्यान्वयन गर्न खोजे समस्या आउने मन्त्री भुसालकाे भनाइ छ ।
