काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयक प्रस्तुत हुँदै छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसहित विभिन्न विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
सांसद् विन्दा पाण्डेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै छिन् । उनले 'बोक्सा बोक्सी दाइजो लगायत कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरिती र विकृतिको अन्त्यका लागि कानुनी कारबाही गर्न तथा साे सम्बन्धमा विशेष अभियान आवश्यक भएकाले’ भन्ने विषयको प्रस्ताव प्रस्तुत गर्न लागेकी हुन् ।
सो प्रस्तावमा सांसदहरु नवराज सिलवाल, कल्याणी कुमारी खड्का र सरिता कुमारी गिरीले समर्थन गर्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, र ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री खतिवडाले नै ‘सार्वजनिक ऋण व्यवस्थापन र ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्द ।
खतिवडाले नै अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
