काठमाडौं । प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले प्रश्न गरेका छन्– हामी भनेको कोको हो ? प्रष्ट पार्नुस् ।
प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै देउवाले सोधे– ‘सेक्युरिटी प्रेस खरीद प्रकरणमा तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएको एक हप्ता भइसक्दा पनि गम्भीर छानविन नहुनुको नियत के हो ?’
उनले भने– ‘सञ्चार मन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको अडियो प्रष्ट सुनिन्छ । हामी भनेको को हो ? हामीमा कोको पर्छ ? प्रष्ट गर्नुहोस ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले छानविनभन्दा पहिले नै सञ्चार मन्त्रीको अडियो नक्कली हो भनेकोमा आपत्ति जनाउँदै देउवाले भने– ‘प्रधानमन्त्रीको भनाईले छानविन प्रभावित हुन्छ कि हुँदैन ? छानविन पहिले नै निर्णय दिनुभयो भने तपाईंको बोलिको विश्वशनीयता कमजोर भएन र ?’
गोकुल बाँस्कोटाको अडियो प्रकरण र गोकर्णको जग्गा लीजमा दिएको विषयबाट ध्यान अन्यत्र मोड्न नेपाल ट्रष्टको श्वेतपत्र जारी गरिएको देउवाले दावी गरे ।
‘मेरो संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिजमा दिने कुनै निर्णय भएको छैन । राजनीतिक पूर्वाग्रहवश मेरो नाम जोडिएको प्रति मेरो गम्भीर आपत्ति छ’– देउवाले भने ।
नेपाल टेलिकममा अर्बाैं रुपैयाँ भ्रष्टाचार भएको भन्दै उनले सोधे– ‘एनसेलले चार अर्ब रुप्ैयाँमा गरेको काम नेपाल टेलिकमले कसरी १२ अर्ब रुपैयाँमा गरेको हो ?’
पेट्रोलियम पदार्थमा कर बढाएर सरकारले जनतालाई भार बढाउने काम गरेको भन्दै देउवाले पेट्रोलियमको मूल्य नबढाउन अपिल पनि गरेका छन् ।
