काठमाडाैं । प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक सम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् ।
गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थमन्त्रीले नै ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
मन्त्री खतिवडाले नै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले ‘अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधयेक, २०७५ माथिछलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री खतिवडाले नै प्रस्तुत गर्ने बताइएको छ ।
युवा तथा खेलकुद मन्त्री श्री जगतबहादुर सुनार (विश्वकर्मा)ले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथिछलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
मन्त्री विश्वकर्माले नै ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
गृहमन्त्री थापाले ‘अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धिमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
