काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा कर बढाएकाे विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले जनतालाई कर लगाउने अधिकार संसद्को मात्र भएको बताउँदै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेकी थिइन् । गिरीले अाइतबारकाे बैठकमा पनि याे कुरा उठाएकी थिइन् । सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भएको बताउँदै नेपालमो मन्त्रिपरिषद् मार्फत कर बढाउँदा जनता मारमा परेको दावी गरिन् ।
उनले भनिन्– ‘सरकार र आयल निगमले आआफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन् । संसद्लाई सरकारले छलेको छ । करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास भए पनि सरकारले कर बढाएको छ ।'
सांसद गिरीले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर फिर्ता नलिए सदन अवरोध गर्ने भन्दै आइतबारको बैठकमा चेतावनी दिएकी थिइन् ।
आजकाे बैठक शुरु हुने बित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय दिएका थिए ।
सरकारको कर प्रणालीका कारण जनतालाई सास्ती भएको छ, जनतालाई ८५ प्रतिशत करको भार परेको बताउँदै उनले दोहोरो कर प्रणालीको अन्त्य गर्न आग्रह गरेकी छिन् ।
