काठमाडौं । सांसद् देवन्द्र पौडेलले सरकारी कोषमा सञ्चित रकमबाट विकास निर्माणका काम अघि बढाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् पौडेलले सरकारको ढुकुटीमा दुई खरब रुपैयाँ भन्दा बढी रकम रहेपनि खर्च हुन नसकेको बताए । सबै प्रदेशमा खर्च रकम सम्बन्धी सूचना र मन्त्रालयमा विनियोजित रकम खर्च भएको प्रकृति हेर्दा खर्च गर्न नसक्ने र निकै विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको उनकाे दाबी छ ।
सरकारले केही राम्रा काम थालेको र विशेष त भौतिक मन्त्रालयले खाल्डाखुल्डी पुर्ने लगायत काम तीव्र पारेको भन्दै उनले जनताका गुनासाे कायमै रहेकाे बताए ।
काम गर्न पक्ष विपक्ष भन्न नहुने बताउँदै उनले भने– ‘सरकारका कामले गति लिएपनि जनताले सुशासन, विकास र पूर्वाधारमा निकै प्रश्न उठाएका छन्, निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने हाम्रो जिम्मेवारी हो, यसमा सरकारले पहल गरोस् ।’
जनताले विकास निर्माणका काममा तीव्रता खोजेको बताउँदै उनले– ‘राष्ट्रिय गौरवका योजना निकै सुस्त भए, के कारणले हो, कानुनी जटिलता पनि छन्, तीनलाई फुकाएर अघि बढाउनुपर्छ ।’
पुल पुलेसाका काममा संघीय सरकारले, प्रदेशलाई र प्रदेशले स्थानीय सरकारलाई हस्तान्तरण गर्ने बताइएको भन्दै उनले भने– ‘तीनै तहका सरकारले सुरुआत गरेका योजना बिचैमा छाड्नु हुँदैन, पुराना बीचैमा छाडेर नयाँ माग्ने हो भने विकासको स्थायीत्व प्राप्त हुँदैन ।’
सरकारले पाँच वर्षमा पूर्वाधार निर्माणमा छलाङ् मार्ने संकल्प गरेको भन्दै उनले एकातिर योजना अघि बढ्न नसक्नु र अर्कोतिर खर्च हुन नसकेर रकम सञ्चितले लज्जास्पद महशुस हुनु दुखद भएकाे बताए ।
ठेक्का मिति नथप्ने र समयमै काम सक्ने भनेर खरिद ऐनमा सदनभित्र र बाहिर निकै छलफल चलाइएको बताउँदै उनले भने– ‘अहिले घुम्दै फेरि त्यही दोहोरिएको छ, यसलाई रोक्न म सरकारको ध्यानाकार्षण गराउँछु ।’ वर्तमान सरकार नेपालको इतिहासकै निकै सकुशल सरकार रहेको भन्दै उनले निर्धक्क, खुट्टा नकमाई र कानुनी जटिलता भए फुकाएर अगाडि बढ्नुपर्ने बताए । यसका लागि जनता, बुद्धिजिवी, अन्तराष्ट्रिय समुदायलाई साथ लिएर अघि बढ्नुपर्ने उनले बताए ।
‘सरकारलाई अनुरोध छ हामी मन्त्रालयहरुमा भैलो खैल्ने गरी योजना लिएर हिड्ने अवस्था नआहोस्, विज्ञ टोली बनाएर त्यसका आधारमा देशका पूर्वाधार पाँच/दश कति वर्षमा बनाउन सकिन्छ भन्ने खाका बनाएर काम गर्नुपर्छ, हामी नीति निर्माणमा सक्रिय हुन्छौं’- पाैडेल भन्छन् ।
मन्त्रालय गयो कर्मचारीले अल्झायो, कर्मचारीलाई भेट्यो कानुनले अल्झायो भन्ने प्रवृति देखिएको भन्दै उनले यसको अन्त्य गरेर विकास निर्माणको गति अघि बढाउनुपर्ने बताए ।
सार्वजनिक खरिद ऐन संशोधन कहाँ पुग्यो भन्ने प्रश्न गर्दै उनले यसलाई मुर्त रुप दिनुपर्ने बताए । त्यस्तै उनले संक्रमणकालिन न्यायलाई अघि बढाउन समेत सरकारकाे ध्यानाकर्षण गराए ।
आफ्नो क्षेत्रमा काममा पक्षपात भएको भन्दै उनले मध्यपहाडी लोकमार्गको उदाहरण दिए । ‘त्यहाँ धैरै ठाउँमा काम भएको छ, एकैपटक सम्झौता भएको हो, तर, कहीँ हुने कहीँ नहुने भएको छ, गोडाबानेदेखि बाग्लुङ खण्डमा काम भएको छैन, किन भएन यसको खोजी होस्’- उनले भने ।
सांसद् पौडेलले कालिगण्डकी करिडोर, वुर्तिवाङ–बलकोट हस्पिटल निर्माण, ढोरपाटन सालझण्डी सडक, उत्तरगंगा जलाशययुक्त परियोजना, बाग्दुला भीमगिठे सडक काम रोकिएको भन्दै ध्यानाकर्षण गराए ।
उनले प्रश्न गरे- 'ढोरपाटन एकीकृत पर्यटकीय प्रवर्द्धन योजना, वुर्तिवाङ दरवाङ सडक, अर्नाकोट एयरपोर्ट, काँडेवास वामीटक्सारको बाटो कहाँ पुग्यो ?' विकास निर्माणको ऐतिहासिक अवसरलाई आत्मसाथ गरेर काम गर्न मन्त्रीहरुलाई आग्रह गर्दै उनले साथ दिन तयार रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि सांसद् पौडेलले गरे । उनले भने– ‘कार्यकारी प्रमुखका रुपमा थप काम गर्न उहाँको शीर्घ स्वास्थ्य लाभको आवश्यकता छ ।’
त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि भएको जुत्ता प्रहार र सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति पनि उनले खेद प्रकट गरे ।
यस्ता अराजक गतिविधिले देशमा सुशासन कायम हुन नसक्ने भन्दै उनले भने – ‘यस्ता गतिविधि रोक्न म गृहमन्त्री लगायत सरकारलाई अनुरोध गर्छु ।’
कोरोनाका लागि सरकारले सक्रिय र धैर्यपूर्वक धेरै राम्रो काम थाले पनि त्यतिले नपुग्ने बताउँदै पौडेलले भने- ‘नेपाललाई कोरोनाले नछुनेगरी अझ उच्च सतर्कता अपनाउन सरकारले विशेष पहल गरोस् ।’
