-- बद्री पाण्डे--
मलाई राष्ट्रिय सभा याे दुई वर्षमा 'सानो परिवार सुखी परिवार' जस्तो लाग्यो । राम्रो अभ्यास गर्याैं र राम्राे स्प्रिटमा काम गर्याैं । सम्भव भएसम्म हामीले कामलाई चुस्त र प्रभावकारी पनि बनायौं ।
समयमै बैठक सञ्चालन गर्दैनाैं हामी नेपाली । तर, पनि बैठक समयमै सुरु गर्याै सधैं । यसबीचमा प्रविधिको उच्चतम प्रयोग गर्ने कोशिस सचिवालयबाट भयो । यी सबै कुराले हामी अगाडि बढ्दैछौं, राम्रो बाटोमा जाँदैछौं भन्ने देखिन्छ ।
दलीय आग्रह पूर्वाग्रहमुक्त
विशेषगरी अध्यक्षको संयोजनकारी भूमिका, उपाध्यक्ष, सत्तापक्ष, प्रतिपक्षी नेता, प्रमुख सचेतक कार्यव्यवस्था परामर्श समितिमा रहनुभएका सदस्य लगायत सबै माननीयहरुको सुझबुझबाट हामीले यो सभालाई अलि परिपक्व सभाको रुपमा देखायाैँ ।
सभालाई दलीय आग्रह पूर्वाग्रहबाट थाेरै भएपनि मुक्त गरेर याे दुई वर्षमा कार्य सम्पादन गर्याैँ ।
प्रतिनिधि सभा भन्दा राष्ट्रिय सभाकाे अधिकार केही खुम्चाइएकाे छ । संकुचन गराइएकाे छ । संवैधानिक दृष्टिकोणले हेर्दा अर्थ विधेयक अथवा गैर आर्थिक विधेयकले होस् राष्ट्रिय सभा केही खुम्चिएकाे छ ।
तर, मेरो अनुभव छ- त्याे संकुचनलाई हाम्रो सभाको सृजनशीलताले छोप्नुपर्छ, रचनात्मकताले छोप्नुपर्छ । कामको प्रचुर सम्भावनालाई खोतलेर अघि बढ्नुपर्छ । त्यसमा हामी केही हदसम्म सफल भएका छाैँ । थप सफल हुन प्रयास गर्न जरुरी देखिन्छ ।
सबैभन्दा बढि हुटहुटी दुई वर्षेलाई
हामी दुई वर्ष पूरा गरेर १९ जना विदा हुँदैछौं र आजैबाट दिनगन्ती अरु १९ जनाका लागि सुरु भयो । अरु १९ जनाकाे दुई वर्ष बाँकी छ । त्यसैले यसलाई सृजनशील बनाउन सबैभन्दा बढि हुटहुटी दुई वर्ष बाँकी भएकाहरुले गर्नुपर्ने रहेछ ।
गोलाप्रथामा दुई वर्षमा पर्नासाथ हाम्राे हुटहुटी सुरु भयाे । कति हुटहुटी देखायौँ र कति देखाउन सक्थ्याैँ भन्ने अाफ्नै ठाउँमा छ।
आजबाट दिनगन्ती सुरु १९ जनाले बढ्ता हुटहुटी देखाउन सक्नुभयाे भने यो सभालाई सृजनशील बनाउन सक्नेछौं, आफनो काम कर्तव्य र मिसनलाई सफल बनाउन सक्नेछौं, म शुभकामना दिन्छु ।
मतदाताप्रतिको जवाफदेहिताका बारेमा संविधान र कानुनले हामीलाई व्यवस्थित गरेको छैन । तर, हाम्रो नियमावली आफैं बनाउन सक्छौं, त्यसो हो भने जसले हामीलाई निर्वाचित गरे उहाँहरुसँग कम्तिमा वर्षमा एक पटक जाने काम गराैं ।
जस्तो सुदूरपश्चिम प्रदेशबाट चुनिएका अाठ जनाले दुई वर्षमा कम्तिमा दुई पटक मतादाताबीच जाने । त्यसरी गएकाे बेला प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख-उपप्रमुखलाई सँगै राख्ने काम हुन सकेको भए धेरै राम्राे हुन्थ्याे ।
सरकार संघीयतामा इमान्दार देखिएन
विशेषगरी संघीयता मुद्दा पेचिलो छ । सरकार यसप्रति चाहेर-नचाहेर जानेर वा नजानेर इमान्दार देखिएको छैन जस्तो लाग्छ । यो कुरालाई सहजीकरण गर्न आगामी दिनमा मतदाताबीच जान सके हाम्रो दायित्व पूरा हुन्छ ।
संविधानको स्प्रिट अनुसार हामीले कानुन बनायौं । कानुनले एकल संक्रमणिय मतदान पद्धति भन्यो र त्यो पद्धति केहो भने कसैले पूरै नजित्ने र कसैले पनि पूरै नहार्ने । मतभार र मतदाताको अनुपातमा सबैले जित्ने र सबैले हार्ने अनुपातमा जित्ने सिद्धान्तलाई निर्वाचन नियमावलीमा जुन किसिमले प्रतिविम्बित गर्नुपर्थ्याे त्यो सकेनौँ । जसका कारण एकपटक एउटा क्लस्टरमा एक जनाको चुनाव हुने र बहुमतीय पद्धति जस्ताे चुनाव हुने भयाे । एकल संक्रमणीय पद्धति भए पनि बहुमतीय पद्धतिकाे अभ्याश हुनाले संविधानको स्प्रिट अनुसारको उपस्थिति राष्ट्रिय सभामा आगामी दिनमा नहुने हो की भन्ने अाशंका देखियाे । यसमा सभाले छलफल गर्न जरुरी छ ।
अध्यक्षदेखि मर्यादापालक सम्म सबैलाई धन्यवाद् ।
(दुई वर्षकाे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाबाट विदा हुने दिन मंगलबार सदनमा अाफ्नाे कार्यकाल बारेमा बद्री पाण्डेले राखेका विचार)
