काठमाडौं । ‘सत्तापक्षसँग त फाइट नै खेल्न पर्ने हो कि भन्ने लागेको थियो’- राष्ट्रिय सभामा आफ्नो दुई वर्षे कार्यकालकाे अनुभव सुनाउँदै कांग्रेसकी सांसद् सरिता प्रसाईंले भनिन् । सभामा सत्तापक्ष र प्रतिपक्ष विवेकपूर्ण तरिकाले प्रस्तुत भएकाे उनले बताइन् ।
सभालाई राम्रोसँग सञ्चालन गर्न सक्छौं कि सन्दैनौं भन्ने खुल्दुलीका साथ राष्ट्रिय सभामा आएको सम्झँदै उनले पार्टीले प्रमुख सचेतकको भूमिका दिदाँ झन् डर लागेको बताइन् । उनले भनिन् – ‘तर सौभाग्यवश यस सभाका अध्यक्ष, उपाध्यक्ष, सत्तापक्षका मुख्य नेता, सचेतक र कार्यव्यवस्था परामर्श समितिका सम्पूर्ण माननीय साथीहरुकाे याेगदानले गर्दा सफल भयौं ।’
राजनीतिमा आउने जाने क्रममा नरमाइलो हुनु स्वभाविक भएको उनले बताइन् ।
स्थिर सरकार बनेकाले जनताको चाहना अनुसार सरकारले काम गर्छ भनेर आफू उत्साहित भएको तर सरकारले सोंचे जस्तो हामीले काम गर्न नसकेर निराश बनाएकाे उनले बताइन् । उनले भनिन्– ‘सरकारले जनताको इच्छा अनुसारको काम गरोस्, भ्रष्टाचारमा मात्र लिप्त नहाेस्, जनताको आशालाई निराशामा नबदलाेस् ।’
उनले अबको चारवर्ष पनि राष्ट्रिय सभालाई सफलतापूर्वक अगाडि बढाइयोस् भन्दै शुभकामना दिइन् । अब सभामा आउने विधेयकहरुलाई सहमतिका साथ पारित गर्न पनि उनले सुझाव दिइन् ।
सरिता विगतमा व्यवस्थापिका संसद्मा पनि थिइन् । उनी राज्यमन्त्री पनि भएकी थिइन् । दुवै सदनकाे अनुभव बटुल्ने माैका पाउने विरलै नेतृमध्ये सरिता पनि भएकी छिन् ।
