काठमाडौं । ‘यो दुई वर्ष राष्ट्रिय सभामा जसरी बिताएँ, म खुसी छु’– मुक्ताकुमारी यादवले भनिन् ।
राष्ट्रिय सभा जस्तो गरिमामय सदनमा आफूले पाएका जिम्मेवारी मन, वचन र कर्मले इमानदारीसाथ निर्वाह गरेको उनले बताइन् ।
दुई वर्षे कार्यकालको अन्तिम दिन राष्ट्रिय सभा बैठकमा उनले भनिन्– ‘तर, सांसद्को हैसियतमा रहेर केही गर्नुपर्ने कामहरु बाँकी नै रहे ।’
सदनमा रहेका विज्ञ सदस्यहरुले बाँकी कामहरु राम्रोसँग निष्पक्षताका साथ गर्ने विश्वास उनले व्यक्त गरिन् ।
राजनीतिज्ञहरु कहिले सदनमा कहिले सडकमा हुने भन्दै उनले राष्ट्रिय सभासँग विछोड भएको अनुभव नगरेको उनले बताइन् ।
‘जसरी सूर्य उदाउँछ र अस्ताउँछ त्यसैगरी हामी राजनीतिज्ञहरु अहिले हट्छौं, पछि योभन्दा राम्रो अवसर पनि पाउँछौं’– उनले भनिन्– ‘यो भन्दा राम्रै अवसरका लागि हामीलाई दुई वर्षे कार्यकाल परेको जस्तो मलाई लाग्छ ।’
देश र जनताको सेवा गर्न दिएकोमा उनले आफ्नो पार्टी नेपाली कांग्रेसलाई धन्यवाद दिइन् ।
उनले राष्ट्रिय सभा ठूलो उचाइमा पुगोस, सभाले ठूलो उचाईमा मर्यादा राख्न सकोस भन्दै शुभकामना पनि दिइन् ।
