काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे भूमिकाकाे उच्च प्रशंसा गरेका छन् दुई वर्षे कार्यकाल पूरा गरेर विदा भएका १९ जना सांसद्हरुले ।
राष्ट्रिय सभाका १९ जना सांसद् दुई वर्षे कार्यकाल पूरा गरेर अाजबाट विदा भएका छन् । उनीहरुकाे विदाईमा सम्बाेधन गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाकाे दुई वर्षे कार्यकालकाे सामान्य समीक्षा समेत गरेका छन् ।
दुई वर्षमा सदनमा भएका कामको संक्षिप्त समेत जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले सम्पादित कामका लागि सदस्यहरुले गरेको याेगदानको प्रशंसा गरे । उनले भने–‘सभाको गरिमा उच्च बनाउन यहाँहरुले महत्वपूर्ण भूमिका खेल्नुभयो, यो सदा स्मरणीय रहनेछ, तपाईंहरुको सहयोग र समझदारीको म उच्च प्रशंसा गर्छु ।’
उनले कार्यकाल पूरा गरी जान लागेका सबै सांसद्लाई शुभकामना दिँदै भने– ‘भविष्यमा अहिलेको भन्दा महत्वपूर्ण र माथिल्ला जिम्मेवारी प्राप्त गर्न सफल हुनुहोस् । हार्दिक शुभेच्छा छ ।’
त्यसैगरी संसदीय दलका नेताहरुले पनि बिदाइ हुने सांसदहरुको प्रशंसा गर्दै आगामी दिन थप सफल बनोस् भन्ने कामना गरे ।
राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले समय र संविधान अनुसार बिदाइ हुने सबै सदस्यकाे सुखद र सफल भविष्यको कामना गरे । सहमति र सहकार्यको संस्कृति विकास गर्न सांसदहरुको भूमिका महत्वपूर्ण रहेको शर्माले बताए ।
‘तपाईंहरुलाई बिदाइ गरेको होइन काममा पठाएको हो, यो सदनको शुभकामना लिएर गई त्यो काम पूरा गरेर फेरि पनि आउनु हुनेछ’– उनले भने ।
संविधान र विकासमा सत्तापक्ष र प्रतिपक्षी सबै एक ठाउँमा रहेको बताउँदै उनले राष्ट्रिय सभालाई सफल बनाउन प्रतिपक्षी दलले निकै ठूलो भुमिका निर्वाह गरेको बताए । राष्ट्र निर्माणको अभियानमा पनि एक ढिक्का भएर अघि बढ्न उनले अाग्रह गरे ।
राजनीतिमा प्रतिस्पर्धा भएपनि राष्ट्रनिर्माणमा एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए ।
बिदाइ हुने सांसद् तथा सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दुई वर्षमा विशेष काम भएको बताए । विभिन्न विवादास्पद विधेयकहरुलाई परिमार्जन गरी सबैले अपनत्व ग्रहण गर्ने गरी पारित गर्ने काम भएको स्मरण गर्दे उनले अध्यक्ष तिमिल्सिनाको समन्वयकारी भूमिकाको प्रशंसा गरे ।
राजपाका वृषेशचन्द्र लालले संघीय संरचना र अभ्यासलाई राम्रो र मजबुत बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच छलफल आवश्यक रहेको बताए ।
संघीयता सबल बनाउने सवालमा सत्तापक्ष र विपक्षीको नजरबाट हेर्ने र बहस गर्ने काम आगामी दिनमा नहोस् भन्ने उनले कामना गरे । राष्ट्रिय सभाले दुई बर्षको अवधीमा जनताको अावाज उठाएको बताए । राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संशोधनको तयारी भइरहेको बताउदै उनले संविधान संसोधन गर्दा सत्तापक्ष र विपक्षी सबैसँग छलफल गरेर मात्रै निर्णयमा पुग्न सुझाव दिए ।
समाजवादी पार्टीकी प्रमिला कुमारीले बिदाई हुने सांसदहरुको योगदान अविष्मरणीय रहने भन्दै आगामी दिनका लागि शुभकामना दिइन् । विदा हुने सबै सांसद्ले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाकाे भूमिका प्रभावकारी भएकाे भन्दै प्रशंसा गरेका छन् ।
