काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठ आजबाट राष्ट्रिय सभाका सदस्य बनेका छन् । राष्ट्रिय सभामा प्रवेश गरेको पहिलो दिन नै उनले वैचारिक भाषण गरेका छन् ।
सदनमा उनले दिएका अभिव्यक्तिका सात मुख्य अंश : –
१) वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुको विकल्प छैन । लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई ‘यताउता’ गरेर बहानावाजी गर्ने छुट छैन ।
२) लोकतन्त्र भएन भन्न पाईदैन । संक्रमणकाल छ संविधान छैन भन्न पाईंदैन । अब बहुमतको सरकार छैन राजनैतिक स्थिरता छैन, राजनैतिक अस्थिरता छ भन्न पाईंदैन । अब हामीले व्यवहारमा सम्मृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनु बाहेक यताउता गर्ने ठाउँ छैन ।
३) राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुबाहेक अर्को विकल्प छैन । त्यसका लागि सरकारको एक्लो प्रयासले मात्र पुग्दैन, सबै दल एक ठाउँमा उभिनुपर्छ ।
४) हामी जुनसुकै पार्टीको भए पनि, सत्तारुढ पार्टीमा अथवा बाहिर भए पनि सबैको जिम्मेवारी यो देशलाई जुन उद्देश्यले हामीले राजनीतिक परिर्वतन गर्यौ त्यो उद्देश्यलाई राजनीतिक परिर्वतनमा मात्रै सिमित नराख्ने, राजनीतिक उपलब्धिमा मात्रै सिमित नराख्ने त्यसलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने र यो देशलाई सम्मृद्ध नेपालमा रुपान्तरण गर्नु हो । अब हामीले व्यवहारमा देखाउनु बाहेक अर्को कुनै विकल्प छैन । यसको जिम्मेवारी जनताले मूलत हाम्रो पार्टीको सरकारलाई दिएको छ । सरकारले नै मुख्य जिम्मेबारी पूरा गर्नुपर्छ ।
५) लोकतन्त्रको अभ्यास, रक्षा र विकास तथा प्रतिगतमका सारा अभ्यासलाई असफल पार्न पनि राष्ट्रिय एकता आवश्यक छ । विकासका केही आधारभूत विषयमा पनि सबैको सहयोग, सहकार्य र सहमति आवश्यक छ । बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आआफ्नै समस्या छन् तर निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्रबाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्छ ।
६) लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण गर्छ । त्यो सत्ताको जिम्मेवारी लोकतन्त्रको रक्षा र विकास गर्नु हुन्छ तर सत्ताको चरित्र अनुसार निरंकुश हुने खतरा पैदा हुन्छ । त्यसैले सत्तामा भएकाहरुले त्यसबाट सजग हुनुपर्छ । त्यसबाट आफूलाई बचाउनुपर्छ भने अर्कोतर्फ लोकतन्त्रले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका पूरा गर्न निर्देशित गर्छ तर त्यसको पनि एउटा खतरा हुन्छ । प्रतिपक्ष विरोधवादमा फस्ने खतरा हुन्छ । निरपेक्ष विरोधमा फस्ने खतरा हुन्छ । जे आए पनि विरोध गर्ने प्रवृत्तिमा फस्ने खतरा हुन्छ । त्यसको निम्ति सचेत हुन अनुरोध गर्दछु ।
७) परिर्वतित राजनीतिक प्रणालीको सफल र प्रभावकारी ढंगले कार्यान्वयन गर्न राजनीतिलाई सफा गर्ने आन्दोलन आवश्यकता छ । लोकतान्त्रिक मूल्य मान्यता अनुसार अगाडि बढ्नुपर्ने आवश्यकता छ । समाजवाद उन्मुख भनेर संविधानले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक प्रणालीको चरित्रलाई निर्देशित गरेको छ । त्यो अनुसार अगाडि बढ्नुपर्दछ । भ्रष्टिकरणको प्रक्रियाबाट हामीलाई बचाउनुपर्याे ।
