काठमाडौं । राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
बुधबार बसेको बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गरेका थिए । बैठकले ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो । गत सोमबारको बैठकमा गठपूरक संख्या नपुगेपछि सो विधेयक निर्णयार्थ पेस हुन सकेको थिएन ।
बुधबारको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।
बैठकले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक सम्बन्धी प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले प्रस्तुत गरेका थिए ।
